| सोमवार, कार्तिक २३, २०८३

पालिकाहरुले विभिन्न बस्तुमा आत्मनिर्भर बन्ने अभ्यास गरुन्

जुन पालिकाको आन्तरिक आय बलियो छ, त्यो पालिका संवृद्ध हुन्छ । जस्तो काठमाडौँ महानगरपालिका । आन्तरिक आय पर्याप्त भएकाले सो महानगरपालिकाले मनग्य कार्यक्रम बनाएर खर्च गर्न सक्छ । आर्थिक रुपमा सम्पन्न भएपछि त्यस्ता पालिकाहरु शक्तिशाली पनि हुन्छन् ।

अहिले गोरखाका पालिकाहरुको आन्तरिक आय गर्ने स्रोत ढुंगा, गिटी, बालुवा मात्र देखिएको छ । चुमनुब्रीको आन्तरिक आय पर्यटन क्षेत्रबाट, सहिद लखनको आन्तरिक आय मनकामना केवलकारबाट हुन्छ भने अन्य पालिकाको ढुंगा गिटी बालुवाबाहेक अन्य नगण्य देखिएको छ ।

यस्तो अबस्थालाई मध्यनजर गरी पालिकाहरुले अब विभिन्न बस्तुहरुको उत्पादन गरी आफ्नो पालिकालाई आत्मनिर्भर बनाउने योजना बनाउनु पर्छ । हुनसक्छ, चुमनुब्री र धार्चेले जडिबुटी, पर्यटन क्षेत्रको प्रचुर विकास गरुन् । कुनै पालिकाले सुन्तला, कुनै पालिकाले मास, कुनै पालिकाले अलैँची, कुनै पालिकाले कुखुरा, कुनै पालिकाले स्याउ, कुनै पालिको माछा, मासु, अण्डा आदि उत्पादन गरी पालिकालाई आत्मनिर्भर बनाउन सक्दा धेरै राम्रो हुन्छ । जसले गर्दा एक त मुद्रा बाहिरिँदैन, अर्कोतर्फ उत्पादनको विक्री गरी आर्थिक आयआर्जन वृद्धि हुन्छ, मान्छेहरुले रोजगारी पाउँछन् ।

पालुङटार नगरपालिकाले दूधमा आत्मनिर्भर बन्ने प्रयास आरम्भ गरेको छ । दूध र मासुमा आत्मनिर्भर बनाउनका लागि यस पालिकाले यसबर्ष ५५ लाख रकम विनियोजन गरेर बिभिन्न कार्यक्रमहरु संचालन गर्न थालेको छ । सो पालिकाले कृषक समूहलाई ५० प्रतिशत अनुदान दिई गाईभैसी खरिद गर्न प्रेरणा दिएको छ ।

पालिकाले गाई खरिद गर्न अधिकतम ४० हजार र भैसीको हकमा अधिकतम ६० हजार रुपैँया अनुदान रकम उपलब्ध गराएको छ । त्यति मात्र होइन, सो पालिकाले औषधी र घाँस खरिद गर्नका लागि बार्षिक २५ हजारका दरले रकम उपलब्ध गराएको छ ।
यसरी किसानहरुलाई हौसला बढाउने खालका कार्यक्रम गरी उत्पादनमा जोड दिनुपर्छ र पालिकालाई कुनै न कुनै बस्तुमा आत्मनिर्भर बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्