| सोमवार, कार्तिक २३, २०८३

राजनीतिक सदाचारको खाँचो

हिन्दी फिल्म ‘इमान’मा एउटा पात्रले सोध्छ, ‘इमान के हो ?’ अर्काले जवाफ दिन्छ, ‘इमान त्यो हो, जुन सबैले अरूमा खोज्छन् ।’ सन् १९७४ मा हिन्दूस्तानी समाजको प्रतिविम्ब बनेको यो संवाद अहिले त्यहाँ के कसो छ, नेपालमा समसामयिक छ । यसले आजको नेपाली समाजलाई गाँजिरहेको छ । विश्लेषक दीपेश घिमिरे लेख्छन्, ‘राजनीति नीति निर्माण गर्ने क्षेत्र भएकाले यसलाई नीतिहरुको राजा भन्ने गरिन्छ । त्यसैले राजनीतिमा इमान्दारी र नैतिकतालाई प्रधान तत्व मानिन्छ ।’

तर, के नेपालको राजनीतिमा यी तत्व छन् ? राजनीतिमा इमान, नैतिकता, सदाचार, पारदर्शिता, वचनमा पक्का लगायतका गुणको अपेक्षा राखिन्छ । तर अहिले ‘राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुदैनन्’ भन्ने अनैतिक वाक्यलाई आदर्श वाक्य मान्दै सदाचारको राजनीतिलाई तिलाञ्जली दिने गरिएको छ । सदाचारको राजनीतिलाई लत्याएर जो अनैतिक राजनीतिका माहिर खेलाडी बन्न सक्छ, उसकै फलिफाप हुने गरेको छ ।

जो ठूलाठूला घोटाला, ठूलाठूला भ्रष्टाचारका प्रकरणसंग जोडिएका छन्, अनैतिक आर्जनबाट महँगा गाडी, आलिशान महल किन्ने, सरकारी ढुकुटीमा विदेश भ्रमण गर्ने, रातो पासपोर्ट बिक्री तथा दुरुपयोग, ललिता निवास प्रकरण, भुटानी शरणार्थी प्रकरणमा सहभागी, सुन तस्करी, सांसद किनबेच गर्ने, राजनीतिक कलेबरमा दादागिरी गर्ने, गुण्डा पाल्ने र परिचालन गर्नेको राजनीति फस्टाएको पाइन्छ । इमान्दार राजनीति गर्नेको कहिल्यै शीर उँचो भएको छैन ।

यस्ता घटनाक्रमले नेपाली राजनीतिको नैतिकताहीन तस्वीर प्रष्ट्याउँछ । तसर्थ यस्तो अनैतिक क्षेत्रमा पढेलेखेका नयाँपुस्ता घिनाएको छ । अहिलेजस्तै फटाहा, घुसखोरी, भ्रष्टाचारी, अनैतिकहरुको अखडा, डनगिरीको, हुल्लडबाजको रजगज, दुराचारी, व्यभिचारीहरुको मुकाम बनाइरहने हो भने राजनीतिमा सतपात्रहरुको प्रवेश हुदैन । यदि सदाचारी, शिष्ट, सभ्य, नैतिकवान, इमानी सतपात्रहरुको नयाँ पुस्ता राजनीतिक क्षेत्रमा आएनन् भने यो देशको राजनीतिक भविष्य कस्तो रहला ? यसर्थ, क्षयीकरण हुदै गएको नेपाली राजनीतिमा सदाचारको ठूलो खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्