| आइतवार, कार्तिक २२, २०८३

घर भाडामा लगाउन पनि अजिरकोट गाउँपालिकाको राजनीतिक हस्तक्षेप !

घरधनी र वैंक बीचको आन्तरिक समझदारीमा पनि अजिरकोट गाउँपालिकाले हस्ताक्षेप गरेको छ । व्यक्तिले आफ्नो घर भाडामा लगाउने र वैंकले घर भाडामा लिने विषयमा पनि पालिकाका अध्यक्ष दीपक देवकोटाले हस्ताक्षेप गरेको घरधनीले आरोप लगाएका छन् ।

अजिरकोट गाउँपालिका–३ भच्चेकस्थित राष्ट्रिय वाणिज्य बंैकको शाखा कार्यालय सार्ने बिषयमा गाउँपालिकाले हस्ताक्षेप गरेको उनले बताए । हाल कार्यालय संचालनमा रहेको घर साँघुरो भएको भन्दै बंैकले घर परिवर्तन गर्न खाजेको थियो । स्थानीय रामबहादुर गुरुङको घरमा कार्यालय संचालन गर्ने भन्दै बैंकले सम्झौता समेत गरिसकेको छ । तर पालिकाले अनावश्यक हस्ताक्षेप गर्दै अवरोध सृजना गरेको गुरुङले बताए ।

‘यही फागुन १ गतेबाट मेरो घरमा कार्यालय सर्ने भनेर बैकसँग सम्झौता भएको थियो, तर वैँकका सरहरु आउनुभएन,’ गुरुङले भने, ‘किन नआउनुभएको भनेर सोध्दा पालिकाबाटै अवरोध आयो भन्नुभयो ।’ पालिका अध्यक्ष–उपाध्यक्षले राजनीतिक हस्ताक्षेप गरेको आरोप लगाउँदै उनले थपे, ‘म कांग्रेसमा आस्था राख्ने मान्छे, तर अध्यक्ष–उपाध्यक्ष माओवादीको परे । उनीहरुमा कांग्रेसको घर भाडामा लिनु हुन्न भन्ने साँगुरो सोचाइ छ । त्यसैले अवरोध गरेका हुन् ।’

घर भाडामा दिन चाहनेसँग आवेदन माग गर्दै बैकले दुई पटकसम्म सूचना निकालेको थियो । पहिलो पटक गुरुङको मात्र आवेदन परेपछि पुनः सूचना निकालिएको थियो । दोस्रो पटक गुरुङसहित कृष्णकुमार श्रेष्ठ र धनबहादुर धितालको आवेदन प¥यो । सूचनामा उल्लेख भए अनुसारको सबै मापदण्ड पूरा भएको र कार्यालय संचालन गर्न उपयुक्त देखिएको भन्दै बैकले गुरुङको घर छनोट ग¥यो ।

गत माघ ७ गते घरबहालमा दिनका लागि आवश्यक पूर्वाधार तयार गर्न भन्दै बैकले गुरुङलाई पत्राचार ग¥यो । ढुकुटी कोठा, भुईमा टायल लगाउने, रंग रोगन गर्ने, जेनेरेटर राख्ने स्थानको सुविधा, गार्ड कोठाको व्यवस्था, पार्किडको व्यवस्था आवश्यक शौचालय र भुई तलामा एटीएम मेशिन राख्ने कोठाको व्यवस्था मिलाउन पत्रमा भनिएको थियो । सोही अनुरुप व्यवस्थापन भएपछि माघ २१ गते गुरुङ र बैँक बीच मासिक २८ हजार घरभाडा लिनेदिने गरी दश बर्षका लागि करार सम्झौता भयो । फागुन १ गतेबाट कार्यालय सर्ने भन्ने सम्झौतामा उल्लेख भएपनि पालिकाकै हस्ताक्षेपका कारण कार्यालय सर्न नसकेको गुरुङले बताए ।

राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रदेश पोखराका कार्यालय प्रमुख प्रमोद अधिकारीले पनि गाउँपालिकाकै कारण कार्यालय सार्न समस्या भएको बताए । ‘सर्नलाई तयार भइसकेका थियौँ पालिकाले हामीसँग समन्वय गरेर मात्र अघि बढ्नु भनेर पत्र लेख्यो,’ उनले भने, ‘हामीसँग समन्वय नगरी गर्नुभयो भने हामी कारोवार नै गर्दैनौ समेत भन्नुभयो ।’ स्थानीय स्तरमा द्वन्द्व मुठभेड गरेर आफूहरु अघि बढ्न नसक्ने उनले बताए ।

साँघुरो भएको भन्दै यसअघि पनि कार्यालय अन्यत्र सार्न खोजिएको तर असहयोग भएको उनले जानकारी दिए । ‘अहिले कार्यालय रहेको भवन पुरानो छ, स्पेस पनि कम छ । पार्किङ पनि समस्या । अलि धेरै ग्राहक भएका बेला सडकमै लाइन बस्नुपर्ने अवस्था छ । त्यही भएर अलि स्पेस भएको ठाउँमा सर्न खोजेका थियौँ, तर पालिकाले नै सहयोग गरेन,’ अधिकारीले भने । गाउँपालिका आफैले भवन बनाएर कार्यालय संचालन गर्न दिए सहज हुने उनले बताए ।

यता गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले भने कार्यालय सार्ने बिषयमा पालिकाले कुनै अवरोध नगरेको दावी गरे । ‘अहिले कार्यालय राखेको घरबेटीसँग केही लेनदेनको बिषय रहेछ, त्यो सल्टाएर जानुस् भनेका हौँ’, उनले भने । आवश्यक समन्वय गर्न पालिका तयार रहेको भन्दै उनले सरसल्लाह गरेर यो बिषय टुंग्याइने बताए । हाल कार्यालय संचालन भएको घर र अहिले सार्न लागेको घरमा केही फरक नभएको भन्दै उनले यसमा पालिकाले कुनै हस्ताक्षेप नगर्ने समेत आश्वासन दिए ।

यता गुरुङले भने पालिकाकै हस्ताक्षेपका कारण आफ्नो घरमा बैंक नआएको आरोप लगाए । ‘गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा नम्वर ३ का अध्यक्षले संयुक्त रुपमा हस्ताक्षर गरेर बैकको पोखरा कार्यालयमा पत्राचार गरेका रहेछन्,’ उनले भने, ‘के कारणले रोकेको भनेर जवाफ माग्दै मैले पालिकामा निवदेन हालेको छु,’ उनले भने । व्यक्ति र संस्था बीचमा भएको सम्झौतामा पालिकाले अनावश्यक हस्ताक्षेप गरेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे । २०३९ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैकको भच्चेक शाखा तत्कालिन माओवादी द्वन्द्वको समयमा बिस्थापित भएको थियो । २०६५ सालमा शाखा पुनस्र्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस्