
४५ दिने फेसन डिजाईनिङ तालिम सुरु
महिलाहरुलाई लक्षित गरी जिल्ला सदरमुकाममा फेसन डिजाईनिङ तालिम सुरु भएको छ । स्थापनाको स्वर्ण जयन्तीको सन्दर्भ पारेर गोरखा उद्योग वाणिज्य संघले तालिमको आयोजना गरेको हो ।
गोरखा नगरपालिकाको आर्थिक सहयोगमा संचालित तालिमको बुधवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । गोरखा नगरपालिकाकी उपप्रमुख मोसलीमाया थोकरले तालिमको उद्घाटन गरेकी हुन् । ४५ दिनसम्म चल्ने तालिममा बिभिन्न स्थानीय तहका ३० जना महिलाहरुको सहभागिता रहेको संघले जनाएको छ ।
‘फेसन डिजाइन सम्बन्धी पहिलो चरणको तालिम दिइसक्यौँ,’ संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले भने, ‘यो दोस्रो चरणको एड्भान्स तालिम हो ।’ तालिम अवधिभर प्रशिक्षक सविना राईले सहजिकरण गर्ने बताइएको छ ।
संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाकी उपमेयर थोकर, गोरखा उद्योग वाणिज्य संघका उपाध्यक्ष अस्मकबाबु श्रेष्ठ, पत्रकार महासंघ गोरखाका सचिव बिकास मरहट्टा लगायतले मन्तव्य राखेका थिए ।




