
दृष्टि दिनमा लायन्स क्लवको योगदान
महान लक्ष्य, उद्देश्य राखेर विभिन्न संघसंस्था स्थापना हुने गर्छन् । विशेष गरी परोपकारको उद्देश्यले रेडक्रस स्थापना भएको हो । उद्देश्य विभिन्न भए पनि रोटरी क्लवले नेपालमा र गोरखामा पनि स्वास्थ्य तथा शिक्षाको महान लक्ष्य राखेर स्थापना भएको पाइन्छ । त्यस्तै अरु विभिन्न लक्ष्य उद्देश्य भए पनि लायन्स क्लवले नेपालमा र गोरखामा पनि आँखा परीक्षण र उपचारको क्षेत्रमा अतुलनीय काम गरिरहेको छ ।
गोरखामा सदरमुकाममा दुईवटा, छेपेटार, मनकामना र आरुघाटमा लायन्स क्लव स्थापना भएका छन् । सबै शाखाले विभिन्न स्थानहरुमा आँखा शिविर सञ्चालन गर्ने गरेका छन् । लायन्स क्लव अफ गोरखाले त अझै गोरखा सदरमुकाममा आँखा उपचार केन्द्र स्थापना गरेको छ । त्यति मात्र होइन, यी संघसंस्थाहरुको संयुक्त पहलमा सिरानचोक गाउँपालिका, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरेका छन् ।
केन्द्र स्थापनामा नेत्रज्योति संघको प्रत्यक्ष भूमिका रहे पनि यसको जननीे लायन्स क्लव हो । नेत्रज्योति संघ तथा आँखा उपचार केन्द्रका लागि लायन्स क्लवकै छत्रछाया रहेको छ । लायन्स क्लव, नेत्रज्योति संघ तथा आँखा उपचार केन्द्रको संयुक्त पहलमा गोरखामा हरेक महिनाको १९ गते, २० गते र २१ गते नियमित रुपमा आँखा उपचार शिविर हुने गर्छ । यो बेला विशेष गरी आँखाको शल्यक्रिया हुने गरेको छ । १९ गते आँखा परीक्षण, २० गते शल्यक्रिया र २१ गते पट्टी खोल्ने कार्यक्रम नियमित हुने गरेको छ ।
यस कार्यक्रमले गोरखाका धेरै आँखाका समस्या भएका विरामीहरुले ठूलो राहत महशुस गरेका छन् । यसरी हेर्दा लायन्स क्लव, नेत्रज्योति संघ र आँखा उपचारकेन्द्रको भूमिका उनीहरुका लागि प्रार्थनीय छ । उनीहरुको प्रयासलाई सफलीभूत बनाउन प्राविधिक सहयोग हिमालय आँखा अस्पताल पोखराको रहने गरेको छ । यी सबै संघसंस्थाको संयुक्त प्रयासले गर्दा दूर दराजका गाउँबस्तीका आँखाका रोगीहरुले ठूलो राहत पाइरहेका छन् ।




