| सोमवार, कार्तिक २३, २०८३

नौमहिनामा छ हजार बढि सवारी कारवाहीमा, ५३ लाख राजश्व संकलन

प्रतिक्षा आले मगर
नौ महिनाको अन्तरालमा जिल्लामा ६ हजार बढी सवारी साधन कारवाहीमा परेका छन् । सवारी नियम उल्लंघन गरेवापत जिल्ला ट्राफिक प्रहरीले उनीहरुलाई कारवाही गरेको हो । कारवाही स्वरुप ५३ लाख १४ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

‘चालु आर्थिक बर्षको साउनदेखि हालसम्म ६ हजार ३८० सवारी साधनलाई कारवाही ग¥यौँ’, जिल्ला ट्राफिक इन्चार्ज शिवप्रसाद पाठकले भने, ‘कारवाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर रहेका छन् ।’ कारवाहीमा पर्ने मोटरसाइकलको संख्या २ हजार ९३० रहेको उनले जानकारी दिए ।

त्यस्तै नौसय ८६ ट्रक, पाँसय ३१ बस, १५ सय ३९ कार/जिप र तीनसय ९४ ट्रयाक्टर पनि कारवाहीमा परेको कार्यालयले जनाएको छ । सदरमुकाम क्षेत्रमा पार्किङ र व्यवस्थित बसपार्क नहुनाले सवारी नियम उल्लघंनको दर बढेको कार्यालयको भनाइ छ ।
मापसे गरी सवारी चलाउने तीनसय ७३ जनालाई कारवाही
मादक पदार्थ सेवन गरी सवारी चलाउने ३ सय ७३ जनालाई ट्राफिकले कारवाही गरेको छ । कारवाही वापत ४ लाख ११ हजार राजश्व उठेको छ । यो चालु आवको साउन महिनादेखि हालसम्मको विवरण हो । मापसे गरेर सवारी चलाउनेमा पनि अधिकांश मोटरसाइकल चालक रहेको कार्यालयका इन्चार्ज पाठकले बताए ।

कार्यालयले गोरखा सदरमुकाम, वाह्रकिलो, मझुवा देउराली, पालुङटार र आरुघाट लगायत विभिन्न स्थानमा नियमित रुपमा मापसे चेकजाँच गर्दै आएको छ । सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रम पनि संचालन हुदै आएको कार्यालयले जनाएको छ ।

कार्यालयले सोमवारदेखि सवारी दुर्घटना न्यूनिकरणका लागि भन्दै सचेतनामूलक सन्देश उल्लेख भएको स्टिकर टाँस्ने अभियान पनि शुरु गरेको छ । कार्यलयको समन्वय र लायन्स क्लब अफ गोरखा डायमन्डको सहकार्यमा सवारी साधनहरुमा ‘सवारी साधन चलाउदा मोबाईल फोनको प्रयोग नगरौ’ लेखिएको सन्देशमुलक स्टिकर टासिएको जिल्ला ट्राफिक इन्चार्ज पाठकले बताए ।

सवारी चालकले मोबाईल फोन प्रयोग गरी सवारी चलाएको पाइएकाले चालकहरुलाई सचेतना अभिबृद्धी गर्ने उदेश्यले स्टिकर टाँस अभियान संचालन गरिएको उनले जानकारी दिए । सोमवार २० वटा सवारी साधनमा सचेतनामूलक स्टिकर टाँसिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो अभियान १५ दिनसम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्