| सोमवार, कार्तिक २३, २०८३

दुर्गमबासीलाई प्रकृतिले दुख दिए पनि मान्छेले नदिए हुने

भौगोलिक रुपमा दुर्गम क्षेत्रमा बसोबास गर्नेले धेरै दुख खेपिरहेका छन् । बाढी, पहिरो, भूकम्पको सबैभन्दा धेरै दुस्प्रभाव, सबैभन्दा धेरै सास्ती दुर्गम क्षेत्रका बासिन्दाले खेपिरहेका छन् । सडक नहुँदा दैनिक उपभोग्य बस्तु महंगोमा खरिद गर्नुपर्ने, विरामी पर्दा वा सुत्केरी हुन नसकेर आपतविपद पर्दा तत्काल अस्पताल पु¥याउन नसक्ने, पदमार्ग अवरुद्ध भएर कैयौँ समय सदरमुकामसंग वा एक गाउँ र अर्को गाउँ बीच सम्पर्क, सम्बन्ध विच्छेद हुनुपर्ने, विद्युत, इन्टरनेट सेवामा समस्या खेप्नु परिरहेको छ । विद्यालय छ, पढाइ छैन, स्वास्थ्य संस्था छ, सेवा प्रवाह छैन, सरकारी नजर पुग्दैन, जसले गर्दा चौतर्फी समस्या खेपिरहनु परेको छ ।

यद्यपि प्राकृतिक सुन्दरतामा भने दुर्गम क्षेत्रमा सबल छ । हिमाल, उच्च पहाड, तालतलैया, झरना, नागबेली नदी, वन्यजस्तु, त्यस भेगको कला, भाषा संस्कृतिले पर्यटकलाई आकर्षित गरिरहन्छ । त्यसैले देश, विदेशका पर्यटक दुर्गम क्षेत्रको भ्रमण गर्न आउँछन् । तर बिकटता र सुदूरताले गर्दा त्यस क्षेत्रमा बसोबास गर्नेले धेरै कुरामा असुविधाको सामना गरिरहनु पर्दछ ।
एकै दिन, एकै समय काठमाडौँमा जन्मने र सामागाउँमा जन्मनेका बीच के भिन्नता ? जन्मनेको कुनै दोष छैन, तर उनीहरु दुवैको जीवन फरक फरक शैलीमा बित्छ । एउटाको अभावै अभावमा, अर्काको सुविधै सुविधामा ।

प्राकृतिक रुपमा ठगिए पनि दुर्गम क्षेत्रमा बसोबास गर्नेलाई मानवीय गतिविधिले दुख नदिए हुन्थ्यो । तर मान्छेले पनि त्यस्तो क्षेत्रका बासिन्दालाई विभिन्न आयामबाट दुख दिइरहेको पाइन्छ । त्यस क्षेत्रमा बसोबास गर्नेका लागि सरकारले इलाका प्रशासन कार्यालयमार्फत सेवा सुविधा दिने गर्दथ्यो, तर लामो समयदेखि त्यहाँ अधिकृत नहुँदा कागजात बनाउन समस्या भएको छ । यसै सो क्षेत्रमा कर्मचारी बस्दैनन् । कर्मचारी भन्दा पनि कतिपय जनप्रतिनिधि नै सँधै उपलब्ध हुँदैनन् ।
दुर्गमका बासिन्दाले प्रकृतिले गर्दा त दुख पाए, पाए, मान्छेका कारण दुख नपाउन् भन्ने मान्यता राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्