
पर्यटन प्रवद्र्धन गर्न भुलभुलेखारमा कार्यपालिकाको बैठक, पर्यटन विकास समिति गठनको बाटो खुल्यो
पालुङ्टार नगरपालिका १ भुलभुलेखारमा कार्यपालिकाको ८२ औं बैठक सम्पन्न भएको छ । भुलभुलेखारको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यपालिकाको बैठक सो ठाउँमा आयोजना गरेको नगर प्रमुख विवश चिन्तनले जानकारी दिए । बैठकले पालुङटार नगरपालिका पर्यटन विकास समिति गठनसम्बन्धी कार्यविधि अनुमोदन गरेको छ । ‘कार्यविधि अनुमोदन भयो । अब नगरपालिकास्तरीय पर्यटन विकास समिति गठनका लागि बाटो खुल्यो’, मेयर चिन्तनले भने, ‘पालुङ्टार नगरपालिकाभित्र पर्यटन प्रवद्र्धन गर्नुपर्ने धेरै ठाउँहरु छन् । पूर्वाधार निर्माणदेखि प्रचारप्रसार तथा विभिन्न कार्यक्रमहरु सञ्चालन अब पर्यटन विकास समितिले सञ्चालन गर्नेछ ।’
पर्यटन विकास समितिका विषयमा धेरै पहिलेदेखि कुरा चलिरहे पनि बल्लतल्ल समिति गठनसम्बन्धी कार्यविधि सर्वसम्मतले अनुमोदन भएको उनले बताए । नगरप्रमुखको अध्यक्षतामा गठन हुने पर्यटन विकास समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत पदेन सदस्य रहने व्यवस्था छ । कुनै पनि पर्यटकीय सम्भावना बोकेको ठाउँमा कार्यपालिका बैठक आयोजना गर्दा त्यो ठाउँको महत्व र सम्भावना कार्यपालिका सदस्यहरु सबैलाई जानकारी हुने र त्यसको प्रवद्र्धन गर्न सजिलो हुने पालिकाले विश्वास लिएको छ । ‘त्यसैले यसअघिको कार्यपालिकाको ८१ औँ बैठक पनि हामीले कोटगढीमा आयोजना गरेका थियौँ’, मेयर चिन्तनले भने, ‘प्रत्येक बैठक पर्यटकीय स्थलमा हुन नसके पनि सबै कुराले अनुकूल भएको बेला खास खास पर्यटकीय स्थलमा बैठक बस्नेछौँ ।’
पालुङ्टार नगरपालिकाले लिगलिगकोट, कोटगढी, भुलभुलेखार, तालपोखरी, लकाङकोट, धुवाँकोट, सिद्धबाबा, कागबेनी, विश्वेश्वर महादेवलगायतका ठाउँलाई पर्यटकीय सम्भावना बोकेको ठाउँका रुपमा अघि बढाएको छ । अन्य सम्भावित ठाउँको पनि खोजी गरिरहेको छ ।




