
आरुघाटमा आँखा सेवा केन्द्र स्थापना
आरुघाट गाँउपालिकाको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा सेवा केन्द्र स्थापना गरिएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्र र आरुघाट गाउँपालिका बीच सम्झौताअनुरूप आँखा सेवा केन्द्र स्थापना गरिएको हो । बुधबार एक कार्यक्रमका बीच दुई पक्षबीच सम्झौता भएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले बताए ।
सम्झौता पत्रमा गोरखा लायन्स आँखा सेवा केन्द्रको तर्फबाट केन्द्रका अध्यक्ष योङकुमार श्रेष्ठ, कोषाध्यक्ष श्याबबाबु श्रेष्ठ, लायन्स क्लब अफ गोरखाका अध्यक्ष भगवानबाबु मास्के, नेपाल नेत्रज्योति संघ सचिव लक्ष्मणबाबु आचार्य, आरुघाट लायन्स क्लबका अध्यक्ष गणेशकुमार श्रेष्ठ, केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्याल र गाउँपालिकाको तर्फबाट अध्यक्ष राजु गुरुङ, प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
आँखा सेवा केन्द्र विस्तार गरिएसँगै बुधबारदेखि नै नियमित रुपमा आँखा सम्बन्धि सेवा प्रदान गरिएको उनले जानकारी दिए । स्वास्थ्य शाखा प्रमुख थापाका अनुसार विस्तारित आँखा सेवा केन्द्रको लागि आवश्यक औजार उपकरण भने गोरखा लायन्स आँखा सेवा केन्द्रले उपलब्ध गराउने बताए । केन्द्रमा आवश्यक पर्ने दक्ष जनशक्ति सहित सम्पूर्ण व्यवस्था गाउँपालिकाले गर्ने गरी दुई पक्षीय सम्झौता भएको हो ।
केन्द्र स्थापना भएको पहिलो दिन करिब २० जनाले सेवा लिएको उनले बताए । आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति अध्यक्ष बुद्धिप्रसाद श्रेष्ठको अध्यक्षतामा र गाउँपालिकाका अध्यक्ष राजु गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रका प्रमुख डा.शेखर गुरुङ, गोरखा–आरुघाट लायन्सका सम्पुर्ण परिवार, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
यसअघि पालुङ्टार नगरपालिका र सिरानचोक गाउँपालिकामा पनि आँखा सेवा केन्द्र स्थापना गरिसकिएको गोरखा आँखा उपचार केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिए ।




