
चेक बाउन्ससम्बन्धी मुद्दा दर्ता हुने क्रम बढ्दो
पछिल्लो समय चेक बाउन्ससम्बन्धी मुद्दा दर्ता हुने क्रम बढिरहेको छ । बिगत सात महिनायता चेक बाउन्ससम्बन्धी १० वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । ‘गत साउन महिनायता गोरखामा वैंकिङ कसुरसम्बन्धी १० वटा मुद्दा दर्ता भएका छन्’, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठ भन्छन्, ‘१० मध्य पाँचवटाको मुद्दा फस्र्यौट भएका छन् । पाँचवटा अनुसन्धान प्रक्रियामा छन् ।’
अनुसन्धान प्रक्रिया चलिरहँदा कुनै अभियुक्तले चेकमा उल्लेखित बराबरको रकम पिडितलाई भुक्तानी दिएमा मुद्दा प्रक्रिया अघि नबढ्ने उनले बताए । अन्यथा जिल्ला अदालतबाट मुद्दा प्रक्रिया अघि बढ्नेछ । वैंकिङ कसुरसम्बन्धी १० वटै मुद्दा एकै प्रकृतिका रहेका छन् । सबै मुद्दाहरु चेक बाउन्ससम्बन्धी रहेका डिएसपी श्रेष्ठले बताए ।
खातामा रकम नभएको जानीजानी चेक काटी दिने कार्यलाई अपराध मानिन्छ । वैंकिङ कसुर तथा सजायँ ऐन २०६४को दफा ३ को ग मा ‘आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिन नहुने’ उल्लेख छ । यदि कसैले खातामा रकम मौज्दात नभएको जानीजानी चेक काटी दिएमा बिगो असुल गरी र कैद सजायँको समेत व्यवस्था ऐनमा गरिएको छ ।
यस्तो प्रकृतिको जाहेरी यसअघि जिल्ला प्रहरी कार्यालयमा दर्ता भएपछि मुद्दा प्रक्रिया उच्च अदालतबाट मात्र अघि बढ्थ्यो । तर गत २०८० को असार ११ गतेबाट गोरखालगायत जिल्ला तहका अदालतबाट मुद्दा प्रक्रिया अघि बढ्न थालेपछि मुद्दा दर्ता हुने क्रम पनि बढेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।




