
विदाको निर्णय गर्दा निकै विवेक पु¥याउनु पर्छ
एउटा समय थियो, सँधै बन्द, हड्ताल, चक्काजाम भइरहन्थ्यो । ठूलो सानो सबै विवादमा बन्द, हड्ताल, चक्काजाम हुने बिषयले सर्वसाधारण अत्याधिक प्रताडित बने । कुन ठाउँमा कतिबेला बन्द हुँदैछ, चक्काजाम भइरहेको छ, आयोजक को हो जस्ता विषय नै थाहा पत्तो नहुँदा सर्वसाधारण अस्तव्यस्त हुने अबस्था थियो । कतिपय अबस्थामा त आधिकारिक बन्द नभै हल्लैहल्लामा पनि बन्द हुने वा बन्द भइरहेका घटना पनि थिए ।
अचाक्ली भएपछि यो अबस्था आम जनमानसमा पाच्य हुन सकेन । सर्वसाधारणबाट स्वस्फूर्त उल्लंघन हुन थाल्यो, फलस्वरुप अहिले त्यो अबस्था समाप्त त भएको छैन, धेरै नै न्युनिकरण भएको छ । २०७४ पछि स्थानीय तहको अभ्यास सुरु हुन थाल्यो । स्थानीय तहले आफ्नो क्षेत्र र क्षेत्राधिकारभित्र सार्वजनिक विदा गर्न पाउने व्यवस्था भएपछि विदाको पनि दुरुपयोग भएको कतिपय घटनाले देखाएको छ । बहुसंख्यक क्षेत्र, धर्म, जाति, समुदाय समेटिने अबस्थालाई मध्यनजर गरी सार्वजनिक विदाको निर्णय गर्नु सर्व स्वीकार्य हुन्छ, आलोचनामुक्त हुन्छ । तर सार्वजनिक विदा गर्ने अधिकार हुँदैमा लहडका भरमा निर्णय गर्नु सुपाच्य हुदैन । त्यस्ता निर्णय अल्पकालीक हुन्छन्, आलोचित हुन्छन् ।
मृत्यू कसैका लागि सुखद विषय हुदैन, अर्थात मृत्यू हुनु सबैका लागि दुखद विषय हो । विश्वका जो कोहीको मृत्यू हुनु दुखद खबर हो । मृत्यूले जो कसैलाई शोक सन्तप्त गराउँछ । मृत्यूको पीडाको कुनै नापतौल हुदैन, यसको पीडा सबैमा उस्तै, उत्तिकै हुन्छ । यस विषयमा कुनै दुईमत छैन । यही संवेदनशीलतालाई उपयोग गरी हरेक मृत्यूमा विदा गर्नुचाहिँ मनासिब हुदैन । कसैको मृत्यूमा विदा गर्नु मनासिब हुदैन भन्नु कसैको शोकलाई अवमूल्यंन गरेको मान्नु हुदैन ।
बिगतमा शोक विदा संवद्ध क्षेत्रमा मात्र विदा गर्ने परम्परा थियो । अहिले एकाएक यसको दायरा बढाइएको छ । शोकविदामा असहमति जनाउँदा कसैको भावनामा चोट लाग्ने डरले अभिव्यक्त गर्न आनाकानी गरिरहेको अधिकांशको अबस्था हो । यो संवेदनशीलतालाई मध्यनजर गरी आगामि दिनमा धेरै नै वुद्धि विवेकपूर्ण ढंगले विदाको निर्णय गर्नुपर्छ ।




