| आइतवार, कार्तिक २२, २०८३

दुर्घटनामा परेका भीमसेन थापाका नागरिकले बिमा वापतको उपचार खर्च पाउन थाले

भीमसेन थापा गाउँपालिकाले दुर्घटनामा परेका दुई जना नागरिकलाई बिमा बापतको उपचार खर्च उपलब्ध गराएको छ । वडा नम्बर ७ बोर्लाङका डिल्लीराम रेग्मी र कल्पना श्रेष्ठलाई बिमा बापतको रकम भुक्तानी गरिएकोे गाउँपालिकाले जनाएको छ ।
रेग्मी गत असार ३१ गते खाटमा सुतेका वेला लडेर घाइते भएका थिए भने श्रेष्ठको गत कात्तिक २ गते धान कुट्ने मिलले औँला काटेको थियो ।

रेग्मीको उपचारमा ९ हजार ५७० र श्रेष्ठको उपचारमा ३ हजार ३२५ रुपौयाँ रकम खर्च भएको र बिमा वापत उनीहरुलाई सो रकम उपलब्ध गराइएको बिमा कार्यक्रमका फोकल पर्सन जीवन सुर्खेतीले बताए । आइतवार सम्बन्धित वडामा पुगेर गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले बिमितलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । आर्थिक वर्ष २०७९/०८० को गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले पालिकाभित्रका १६ हजार ९८६ जनाको सामूहिक दुर्घटना बिमा गरेको थियो ।

सामूहिक दुर्घटना बिमा अन्तरगत पालिका बासीले कुनै प्रकारको दुर्घटनामा परे उपचार खर्च र ज्यान गुमाएको खण्डमा सम्बन्धित व्यक्तिका परिवारले रु ५० हजार पाउने व्यवस्था गरिएको सुर्खेतीले बताए । बिमाका लागी पालिकाले राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौता अनुसार दुर्घटनामा परेका बिमितले पोलिसीको अधीनमा रही सक्कली बिल बुझाएपछि कम्पनीले गाउँपालिकालाई रकम उपलब्ध गराउछ । अनि पालिकाले सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्छ ।

प्रतिक्रिया दिनुहोस्