| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा दादुरा रुवेला खोप अभियानको सांकेतिक उद्घाटन, खोप बुधबारबाट लगाइने

यही फागुन १६ गतेबाट गोरखा जिल्लामा संचालन हुने दादुरा रुवेला बिरुद्धको खोप अभियानको सांकेतिक उद्घाटन गरिएको छ । आइतवार एक कार्यक्रमका बीच अभियानको सांकेतिक उद्घाटन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । उद्घाटनको क्रममा केही बालबालिकाहरुलाई खोप समेत लगाइएको कार्यालयका खोप शाखा प्रमुख नानीबाबु दानीले बताए ।

‘आजबाट देशभर अभियान सुरु भएको छ, त्यही अनुसार हामीले पनि सांकेतिक रुपमा अभियानको उद्घाटन गरेका हौँ,’ उनले भने, ‘बालबालिकालाई खोप भने फागुन १६ गतेबाट मात्र लगाउन सुरु हुन्छ ।’ फागुन २२ गतेसम्म संचालन हुने अभियानमा जिल्लाका १६ हजार बढी बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उनले जानकारी दिए । अभियानका लागि कार्यालयले स्वास्थ्यकर्मी तथा खोप कार्यकर्ताहरुलाई अभिमुखिकरण तालिम समेत दिइसकेको छ ।

बिभिन्न चरण गरेर जिल्लाका एघार वटै स्थानीय तहका स्वास्थ्यकर्मी तथा खोप कार्यकर्तालाई अभिमुखिकरण गरिएको कार्यालयले जनाएको छ । अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई खोप लगाइने बताइएको छ । अभियानका लागि ४८ वटा खोप केन्द्र निर्धारण गरिएको छ । ९६ जना स्वयमसेवक र २८ जना तालिम प्राप्त जनशक्ति खटिने छन् । यसअघि सन् २०१८ मा दादुरा रोग नियन्त्रणमा आएको भनिए पनि सन् २०२३ मा यसले धेरै जिल्लाहरुमा प्रकोपको रुप लिएपछि सरकारले फेरि खोप अभियान चलाएको हो ।

अब सन् २०२६ भित्र दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्य सरकारले राखेको छ । नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई यो अभियानमा समेट्ने लक्ष्य राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्