
गोरखामा जबरजस्ती करणीको प्रयास गरेको आरोपमा दुईजना पक्राउ
११ बर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । गण्डकी गाउँपालिका २ का ३७ बर्षका आशिष चेपाङ र २३ बर्षीय इश्वर चेपाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आशिषले बुधबार बेलुका साँढे नौ बजे ती बालिकालाई ललाइफकाइ बलात्कार गर्न खोजेको आरोपमा बालिकाका बुबाले प्रहरीमा दिएको जाहेरीका आधारमा बिहिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सो कार्यमा इश्वर चेपाङले मतियार भई काम गरेको आरोपमा उनीहरु दुवैमाथि जबर्जस्ती करणीको उद्योग शीर्षकमा मुद्धा दर्ता गरी अदानलतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।




