
फुटपाथ निर्माण अपरिहार्य
गोरखा नगरपालिका जिल्ला सदरमुकाममा अवस्थित नगरपालिका हो । यसलाई जिल्लाको ऐना पनि भनिन्छ । गोरखा जिल्ला कस्तो भनेर हेर्नुपर्दा गोरखा नगरपालिकालाई हेरेर प्रारम्भिक अबस्था थाहा हुन्छ । जिल्लाबाहिरबाट आउनेहरु प्रथमतः गोरखा नगरपालिकामा नै आउँछन्, त्यसपछि मात्र अन्य पालिकामा । त्यसैले जिल्लाको गरिमा बढाउनका लागि गोरखा नगरपालिकालाई राम्रो बनाउनु पर्ने जरुरी छ ।
सदरमुकाममा गोरखा नगरपालिका वडा नं. ६, ७ र ८ पर्दछ । जिल्लाको प्रतिष्ठा बढाउन विशेषगरी यी तीन वडाहरुको पूर्वाधार विकास गर्न संवेदनशील हुनु जरुरी छ । यही वास्तविकतालाई मनन गरी नगरपालिकाले वडा नं. ६ को बसपार्कदेखि वडा नं. ८ को खोलखोलेसम्म फुटपाथलाई व्यवस्थित बनाउने प्रक्रिया सुरु गरेको छ । यो क्षेत्रमा फुटपाथ सहितको सडक चौडा गर्ने कामको लागि ठेक्का आव्हानको तयारी भएको नगरपालिकाले जनाएको छ ।
यसका लागि प्रक्रिया अघि बढाउन गत माघ २८ गते बसेको नगर कार्यपालिका बैठकबाट निर्णय भइसकेको छ । अब यथासीघ्र ठेक्का प्रक्रिया अघि बढ्ने बताए । नगरपालिकाको आन्तरिक स्रोतबाट मात्र यहाँको फुटपाथ निर्माण सम्भव छैन, त्यसैले नगरपालिकाले समानिकरण योजनाका लागि योजना आयोगमा प्रस्ताव पठाउने निर्णय पनि गरेको छ । प्रस्ताव स्वीकृत भएर आयो भने सो योजना सञ्चालन गर्न सहज हुन्छ ।
यदि योजना आयोगबाट स्वीकृत भएन भने नगरपालिकाकै आन्तरिक स्रोतबाट त्यो योजना सम्पन्न गर्ने पालिकाको योजना छ । उक्त योजनाका लागि यो बर्ष नगरपालिकाले ९० लाख विनियोजन गरेको छ । योजना सम्पन्न गर्न करिव १३ करोड लाग्ने बताइएको छ । फुटपाथलाई व्यवस्थित भएपछि बजार क्षेत्रको सडक पनि केही चौडा बढ्नेछ । फुटपाथ मिचेर बनाइएका केही संरचनाहरु हट्नेछन् । सुन्दर नगर निर्माण गर्न सडक फुटपाथ निर्माण गर्न लागिएको हो । तसर्थ यो कामले चाँडो गति लिनुपर्दछ ।




