| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरपालिकामा फैलिदैँ अफ्रिकन स्वाइ फिभर, बंगुर ओसारपसारमा कडाई

जिल्लामा अफ्रिकन स्वाइन फिभर भाइरस फैलिन थालेपछि बंगुर ओसार पसारमा कडाइ गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले हाललाई ओसार पसार नगर्न भनेको छ । ‘बंगुरको ओसार पसार बन्द गर्न भनेर प्रशासन कार्यालयलाई पनि पत्राचार गरेका भनेका छौ,’ कार्यालय प्रमुख सर्मिला कुमालले भनिन्, ‘बंगुरको हेल्थ सर्टिफिकेट नदिन भनेर सम्बन्धित पालिकाहरुलाई पनि भनिसकेका छौ ।’

उक्त भाइरसका कारण हालसम्म जिल्लामा १३ वटा बंगुर मरिसकेको उनले जानकारी दिइन् । उनका अनुसार थप सात वटा बंगुरमा यो भाइरस देखिएको छ । ‘हामीले आठ वटा बंगुरको ¥यापिड किट टेष्ट गर्दा सात वटामा भाइरस पोजेटिभ देखिएको छ, थप भेरिफाइका लागी पोखराको ल्यावमा पठाएका छौ,’ उनले भनिन् ।

बिशेष गरी गोरखा नगरपालिकाको वडा नम्वर ५, ६, ७ र ९ मा यो भाइरस फैलिएको कार्यालयले जनाएको छ । होटलबाट ल्याइएको खेर गएका खानाका कारण बंगुरहरु बिरामी भएको कार्यालय प्रमुख कुमालले बताइन् । ‘हाम्रो अनुसन्धानले पनि त्यही देखायो, त्यसैले त्यस्ता खानाहरु खुवाउन भएन, खुवाउनै परेमा पनि ३० मिनेट उमालेर मात्र खुवाउनु पर्छ,’ उनले भनिन् ।

स्वाइन फिभर रोग एक प्रकारको भाइरस भएकाले यसको ठोस उपचार नभएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म यसको भ्याक्सिन पनि पत्ता लागेको छैन । जैविक सुरक्षामा ध्यान दिन कार्यालय प्रमुख कुमालले आग्रह गरेकी छन् । ‘खोर वरपर सफा राख्ने, बिहान बेलुकी किटनाषक औषधी छर्कने, खोरमा बाहिरका मान्छेलाई जान नदिने जस्ता सावधानी अपनाउनुपर्छ,’ उनले भनिन् । कार्यालयले बंगुर पालन गर्ने किसानहरुलाई किटनाषक औषधी समेत वितरण गरिरहेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्