
तातोपानी र रुञ्चेत जोड्ने झोलुंगेपुलको सिलान्यास
धार्चे २ रुञ्चेतका बासिन्दाले अब मोटरबाटोसम्म पुग्न चारघण्टा हिँड्नु नपर्ने भएको छ । डेढघण्टामै तातोपानीस्थित सडकसम्म पुग्नेगरी झोलुंगे पुल निर्माण गर्न लागिएको वडाअध्यक्ष सरोज गुरुङले जानकारी दिए । कादुरी एग्रिकल्चरल एड एशोसिएशन(कादुरी)ले तातोपानी र रुञ्चेतको बेशी जोड्ने गरी निर्माण गर्न लागेको झोलुंगे पुलको बुधबार सिलान्यास गरिएको छ । गाउँपालिकाका प्रमुख लक्ष्मण गुरुङले एक कार्यक्रमका बीच पुलको सिलान्यास गरेका हुन् ।
कादुरीले १२० दिनमा पुल निर्माण सम्पन्न गर्नेगरी काम सुरु गरेको वडाअध्यक्ष गुरुङले जानकारी दिए । सो पुल बनेपछि रुञ्चेत गाउँका करिब तीनसय घरधुरी डेढघण्टामै तातोपानीस्थित मोटरबाटोमा झर्न सक्ने उनले बताए । यसअघि माछाखोलास्थित सडक पुग्न चारघण्टा तथा खोर्लाबेशीस्थित सडक पुग्न तीनघण्टा पैदल हिड्नुपर्ने बाध्यता रहेको वडाअध्यक्ष गुरुङले जानकारी दिए ।
‘अब रुञ्चेतका करिब तीनसय घरधुरीका बासिन्दा डेढघण्टामै तातोपानीको सडकमा झर्न सक्नेछन्’, उनले भने, ‘गाउँको कृषि उत्पादन मोटरबाटोसम्म झार्न सकियो भने गाउँमा उत्पादन वृद्धि हुने विश्वास लिएका छौँ । साथै रुञ्चेतखोलामा क्यानोनिङको विकास गर्न सकिन्छ भन्ने अपेक्षा छ ।’




