| आइतवार, कार्तिक २२, २०८३

धमाधम विकास हुँदै भुलभुलेखारको तातोपानी क्षेत्र

छालाको तथा हाडजोर्नीको रोग निको हुने भनेर चिनिएको गोरखाको भुलभुलेखारको तातोपानी क्षेत्रको संरक्षण तथा विकासको काम तीब्र गतिमा भइरहेको छ । पालुङ्टार नगरपालिका, गण्डकी प्रदेश सरकार तथा अन्य स्रोत जुटाएर स्थानीयले तातोपानी क्षेत्रको विकास गरेका हुन् ।

पालुङ्टार १ भुलभुलेखारस्थित तातोपानीको महत्वका बारेमा प्रचारप्रसार र त्यहाँको पूर्वाधार विकास गरी त्यहाँ पर्यटन विकास गर्न थालिएको तातोपानी भुलभुलेखार पर्यटकीय संस्थाले जनाएको छ । ‘स्वास्थ्यका दृष्टिले यहाँको तातोपानीको धेरै महत्व छ । साथै यस क्षेत्रको धार्मिक महत्व पनि ठूलो छ’, संस्थाका अध्यक्ष रामचन्द्र तिवारी भन्छन्, ‘मानवीय स्वास्थ्य र धार्मिक दृष्टिले महत्वपूर्ण क्षेत्रको प्रचारप्रसार गरी यहाँ पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ । त्यही काममा हामी तल्लीन छौँ ।’ यहाँ अहिले धमाधम भौतिक संरचना निर्माण भइरहेको उनले बताए ।

पानीको मुहानको संरक्षणको काम भइरहेको छ भने तातोपानीमा पौडी खेल्न दुईवटा पोखरी निर्माण भइरहेको छ । ‘स्वीमिङपुल, बाथटप, चेञ्जिङ रुम, घेराबार, सरस्वती र शिवको मन्दिर निर्माण गरिएको छ’, अध्यक्ष तिवारीले भने, ‘सरस्वतीको मन्दिर अस्ति श्रीपञ्चमीका दिनमा उद्घाटन भइसक्यो, शिवको मन्दिर अब आउने शिवरात्रीमा उद्घाटन गर्नेर्छौँ । स्वीमिङ पुल आउँदो हिउँद महिनामा उद्घाटन गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।’ यहाँको विकासका लागि पालिका, प्रदेश तथा केन्द्र तहका जनप्रतिनिधि, नेताहरुले सहयोग गरिरहेको उनले बताए ।

‘पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सांसद विकास कोषबाट १० लाख रुपैयाँ दिएपछि यहाँको काम सुरु भएको हो’, अध्यक्ष तिवारीले भने, ‘प्रदेश सरकारअन्तर्गत भूसंरक्षण कार्यालयले जाली लगाउने काम ग¥यो । यसअघिका मेयरबाट ५०÷६० लाखको कार्यक्रम कार्यान्वयन भयो । यसपटकको मेयरबाट पनि २०/३० लाखको कार्यक्रम परेको छ । काम धमाधम भइरहेको छ ।’ भुलभुलेखारको संरक्षण तथा विकासका लागि केही बर्षयता एक करोड ४० लाखको योजना तथा कार्यक्रम सम्पन्न भएको संस्थाले जनाएको छ ।

के हो भुलभुलेखार ?
भुलभुलेखारमा तातोपानी कुण्ड छ । कुण्डमा हिउँद र बर्खा दुवै याममा ३८ डिग्री सेण्टिग्रेड तापक्रमको पानी रहेको छ ।
जमिनमुनिबाट ‘भुलभुल’ गरेर पानी निस्कने भएकाले यस पानी निस्कने ठाउँलाई भुलभुले भनिएको हो । साथै जमिन रसाएर केही नुनिलो, अलिअलि टर्रो अनि फट्किरी जस्तो स्वाद भएको ‘खार’ निस्कने हुनाले यस ठाउँलाई यी दुवै शव्द मिलाएर ‘भुलभुलेखार’ भन्ने गरिएको छ । यहाँबाट निस्कने पानी नुनिलो, चिप्लो, गन्धक वा बिरेनूनको वास्नादार हुने गर्दछ ।

भुलभुलेखारको इतिहास खोतल्ने हो भने पाँचसय बर्षअघिदेखि प्रचलित कहावतसम्म पुग्न सकिन्छ । ‘सोह्रौ सताव्दीमा गोरखपुरका त्रिकालदर्शी एक महन्थ गोरखनाथ भेट्न र चीन जानभनी आएका थिए भन्ने किस्सा सुनिन्छ’, संस्थाका अध्यक्ष रामचन्द्र तिवारीले भने, ‘फर्कने क्रममा उहाँको बास यही फाँटमा परेछ ।

झिसमिसेमै नुहाउनका लागि उहाँले सुनको लठ्ठी गाढेर पानी निकाल्नु भयो । त्यही पानी नै पछि भुलभुलेखारको कुण्ड बन्यो । अलिक माथि उहाँले पिउनका लागि सुनको लठ्ठी गोपेर पानी निकाल्नु भयो । त्यसलाई अहिले पनि सुनधारा भनिन्छ ।’ यही बाटो गएर कोटगढीका विश्वेश्वर महादेवलाई भेटेका थिए भन्ने कथन रहेको उनले बताए ।

यी ऐतिहासिक, धार्मिक महत्व समेटेर तातोपानी भुलभुलेखार पर्यटकीय संस्थाले पदमार्ग निर्माण गर्ने योजना बनाएको छ । ‘गोरखनाथ मन्दिर, कागबेनी, भुलभुलेखार, लिगलिगकोट, लकाङकोट, विश्वेश्वर महादेव मन्दिर, कोटकाली जोडेर पर्यटकीय पदमार्ग बनाउने हाम्रो योजना छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्