
उत्कृष्ट बन्ने पथ अनुशरण गर्नु श्रेयष्कर
तपाईँको जीत पुस्तकका लेखक शिव खेडा भन्छन्, ‘जित्नेहरु कुनै फरक काम गर्दैनन्, काम उही नै हुन्छ, तर त्यही काम फरक ढंगले गर्दछन् ।’ यही फरक ढंगले काम गरेबापत गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयले गोरखाको सामाजिक विकास कार्यालयलाई गत आर्थिक बर्षको कार्यसम्पादनमा उत्कृष्ट ठहर गरेको छ । मुख्यमन्त्रीको कार्यालयले विभिन्न पाँच सुचकको आधारमा गरेको परीक्षणमा गोरखामा रहेका सबै प्रदेशका कार्यालयहरुमध्य सामाजिक विकास कार्यालयको कार्यसम्पादन उत्कृष्ट ठहर गरेको हो ।
सेवा प्रवाह, आर्थिक अनुशासन, कार्यालय व्यवस्थापन, सिर्जनशिलता र कर्मचारी अनुशासनलाई मुख्य आधार बनाएर मुख्यमन्त्रीको कार्यालयले प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका प्रदेशमाताहतका कार्यालयहरुको मूल्यांकन गर्ने गर्दछ । कार्यालयले १०० पूर्णाङ्कमा कार्यालयहरुको मूल्यांकन गर्ने गर्दछ । जसमध्य वित्तीय प्रगति ८० प्रतिशतभन्दा धेरै भएको हुनुपर्दछ । सो सूचक लगायत अरु चारै सूचकमा सामाजिक विकास कार्यालयले उत्कृष्ट प्रदर्शन गर्न सफल भयो र जिल्लाकै सर्वोत्कृष्ट बन्न सफल भयो ।
यसका लागि सो कार्यालयले गरेका अभ्यास सह्रानीय छन् । उत्कृष्ट बन्ने सो कार्यालयको पथ अरु कार्यालयका लागि पनि अनुशरणीय छन् । उत्कृष्ट बनेको जो कसैको पथ अनुशरण गर्न जो कसैले असजिलो मान्नु पर्दैन । आउँदा बर्षमा अझै सकिन्छ भने सो कार्यालयले प्राप्त गरेको अंकभन्दा धेरै अंक ल्याई उत्कृष्ट बन्नु पर्दछ ।
जिल्लामा दर्जनौँ कार्यालयहरु छन् । कार्यालयका प्रमुख तथा अन्य कर्मचारीहरु कहिले औसत क्षमताका आउँछन्, कहिले विशेष क्षमताका आउँछन् । उही कार्यालय, उही काम, कर्तव्य अधिकार हो, तर कुनै कार्यालय प्रमुख जिल्लाले बिर्सिनै नसक्ने गरी सम्झना छाडेर जान्छन्, कोही आफ्नो कार्यावधि कटाउँछन्, जान्छन्, जसको गएपछि कुनै सम्झना नै रहन्न ।
कतिपय कार्यालय प्रमुख तथा कर्मचारीहरु सिर्फ जागिर खान्छन्, जान्छन् । कतिपय भने सिर्फ ‘जागिर खाने’ घेराबाट अलिक बाहिर गएर आफ्नो क्षमता प्रदर्शन गर्दछन्, अतिरिक्त काम गर्छन् । जिल्लामा कार्यरत कार्यालय प्रमुख तथा कर्मचारीहरु त्यही उत्कृष्ट बन्ने पथ अपनाउनु श्रेयस्कर हुनेछ ।




