| सोमवार, कार्तिक २३, २०८३

चर्च दर्ताको गाँठो फुक्नु आवश्यक

गोरखाली खृष्टिय समुदायका अनुसार गोरखामा करिब २५० चर्चहरु छन् । तीमध्य करिब दुईसय चर्चको आफ्नै जग्गा, आफ्नै भवन छन् । ५० भन्दा धेरै चर्चहरु भाडाका घरमा सञ्चालित छन् ।

तर आफ्नै जग्गा र आफ्नै भवन भएका चर्चको पनि खास मर्म अगग्गै छ । ती जग्गा चर्चका पास्टर र विश्वासिला विश्वासीको नाममा दर्ता भएका हुन्छन् । धार्मिक संस्था भएर पनि जग्गा र भवनको लालपूर्जा व्यक्तिको नाउँमा छन् । सुन्दा अचम्म लाग्न सक्छ, आस्थाको केन्द्र भएर पनि ती संस्था वैधानिक समस्यामा जकडिएका छन् ।

चर्चहरु पनि मन्दिर, मस्जिद, गुम्बाहरुसरह दर्ता हुन पाउनु पर्छ भन्ने चर्च सञ्चालकहरुको माग छ । चर्चलाई विधिवत दर्ता गर्न प्राविधिक समस्या परेका कारण विश्वासिला तीनजनाको नाउँमा लालपूर्जा बनाउनु परेको चर्च सञ्चालकहरुको गुनासो छ । यो समस्याको गाँठो नफुकेका कारण कतिपय चर्च एकजना व्यक्तिको नाउँमा मात्र लालपूर्जा बनेका छन् ।

एकजनाको नाउँमा मात्र चर्च दर्ता भएका कतिपय व्यक्तिहरुले विश्वासघात गरेका घटना पनि छन् । कतिपयमा विश्वासको दरार देखिएको र खटपट आएको अबस्था पनि छ । आस्थाको धरोहरमा विश्वासको खाडल देखिनु राम्रो होइन, अथवा आस्थाको धरोहरलाई कसैले स्वार्थपूर्तिको साधन बनाउनु झन् राम्रो हुदैन । यी आम समस्या समाधान गर्न चर्च विधिवत दर्ताको वातावरण बन्नुपर्छ ।

अहिले चर्च सञ्चालकहरुको छाता संस्था ‘खृष्टिय समुदाय’ संस्था दर्ता प्रक्रियाअनुसार दर्ता हुने गरेका छन्, तर चर्च भने दर्ता भएको पाइएको छैन । चर्च नै दर्ता नहुँदा चर्चको जग्गा र भवन पनि चर्चको नाउँमा दर्ता हुने अबस्था छैन । त्यसैले यो समस्याको गाँठो फुकाइदिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्