| सोमवार, कार्तिक २३, २०८३

रञ्चोकमा आगलागीबाट दुई घर जलेर नष्ट

गोरखाको बारपाक सुलिकोट गाँउपालिका वडा नं. ४ रञ्चोकमा शनिबार (आज) आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । अपरान्ह साढें १२ बजेको समयमा भएकोे आगलागीबाट रञ्चोकका सुकबहादुर गुरुङ र सुकपाल गुरुङको घर जलेर पूर्ण रुपमा नष्ट भएको हो । सुकबहादुर र सुकपाल दाजुभाई हुन् ।

सुकबहादुर गुरुङको घरबाट सुरु भएको आगलागी नियन्त्रण गर्ने क्रममासँगै रहेका सुन्दर गुरुङको घरमा आंशिक क्षति भएको सौरपानी प्रहरी चौकीका प्रहरी हवलदार एवम इन्चार्ज कृष्णमान अवालले बताए । आगलागी भएको बारे २ बजेतिर प्रहरीले खबर प्राप्त गरेको थियो ।

खबर पाए लगत्तै प्रहरी टोली घटना स्थलमा पुगी स्थानीयको सक्रियतामा साढें दुई घण्टा पछि आगो नियन्त्रणमा लिएको थियो ।‘आगलागी साढें १२ बजेतिर भएको रहिछ तर हामीलाई २ बजे मात्रै खबर आयो,’ उनले भने, ‘खबर पाउनेबित्तिकै हामी घटना स्थलमा पुग्यौं, हामी पुग्दा स्थानीयले आगो आधाआधी नियन्त्रणमा लिई सकेको थियो ।’

आगलागीबाट अन्दाजी करिब १५ लाख बराबरको क्षति भएको उनले जानकारी दिए । आगलागीबाट घर भित्र रहेको नगद, धनमाल, कागजपत्र, लत्ता कपडा र अन्नपात जलेर सखाप भएको सौरपानी प्रहरी चौकी इन्चार्ज अवालले बताए ।
उनका अनुसार मानविय र पशुचौपाय क्षती भने भएको छैन ।

आगलागीको कारण भने खुलेको छैन । आगलागीबाट घर जलेर नष्ट भएसँगै सुक बहादुर र सुक पालको परिबार घर बिहिन बनेका छन् । घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्