| सोमवार, कार्तिक २३, २०८३

सेवा क्षेत्र विस्तारले स्वास्थ्य वीमा झन् लोकप्रिय

स्वास्थ्य वीमा कार्यक्रम जनस्वास्थ्यका क्षेत्रमा धेरै महत्वपूर्ण कार्यक्रम हो । यसअन्तर्गत विमितले बर्षमा ३५ सय तिरेर एकलाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा लिन पाउँछन् । स्वास्थ्य वीमा गर्ने ज्येष्ठ नागरिकले त झन्, निशुल्क वीमाको सेवा लिन पाउँछन् । देख्दा सामान्य लागे पनि यो सेवा सर्वसाधारणका लागि यो चानेचुने कुरा होइन ।

हरेक कुराका सबल, दुर्वल पक्ष हुन्छन्, यसमा पनि केही दुर्वल पक्षहरु पक्कै छन्, तर तिनलाई बिर्सेर सबल पक्षहरुको मात्र चर्चा गर्ने हो भने, स्वास्थ्य वीमाका कारण स्वास्थ्य सेवा लिने सेवाग्राहीको संख्या निक्कै बढेका छन् । स्वास्थ्य वीमा गरिएको छ, निशुल्क सेवा पाइन्छ भने पनि समय समयमा स्वास्थ्य सेवा लिन जाने, बर्षमा एक वा दुई पटकसम्म ‘होल बडी चेकअप’ गर्नेहरुको संख्या बढेको अस्पतालको तथ्यांकले भन्छ ।

यसअघि गोरखा जिल्लामा जम्मा गोरखा अस्पतालमा मात्र स्वास्थ्य वीमाबाट सेवा पाइन्थ्यो । नत्र गोरखा अस्पतालबाट रिफरल कार्ड लिएर गएपछि भरतपुर सरकारी अस्पताल, चितवनकै पुरानो मेडिकल कलेज, काठमाडौँको शिक्षण अस्पताल, वीर अस्पताल आदिबाट सेवा लिन पाइने अबस्था थियो । अब भने गोरखाको अन्य अस्पतालहरुमा पनि यो सेवा विस्तार भएको छ । अब भने आँपपीपल अस्पताल, आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र, मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्र तथा जौबारी प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि स्वास्थ्य वीमाको सेवा पाइन्छ ।

ती स्वास्थ्य संस्थाबाट पाउन सकिने सेवा वीमाबाट पाइन्छ, यदि त्यहाँबाट सेवा पाउन नसके त्यहाँबाटै रिफरल कार्ड बनाएर अरु ठूला अस्पताल जान पाइने व्यवस्था छ । रिफरल कार्ड बनाउन जिल्ला सदरमुकाम धाउनै पर्ने बाध्यता अब हटेको छ । यो सेवाक्षेत्र विस्तारले अब स्वास्थ्य सेवा लिनेको संख्या बढ्ने विश्वास लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्