
जंक फुडलाई निरुत्साहित गरौँ
जंक फुड बिक्री वितरण गरेको भन्दै केही दिनअघि गोरखा नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा संचालित क्यान्टिनहरु बन्द गर्ने निर्णय गरियो । विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरु समेत यसमा सहमत भए । पोषणयुक्त र स्वस्थकर खाजा खुवाउनु पर्ने विद्यालयका क्यान्टिनबाटै जंक फुड बिक्री वितरण हुनेहुँदा यसको प्रत्यक्ष असर विद्यार्थीको स्वास्थ्यमा पर्ने देखिन्छ । यसमा विद्यालयको मात्र होइन नियमन निकायको पनि कमजोरी छर्लङ्ग छ ।
विद्यार्थीहरुलाई विद्यालयमा नियमित गराउन सरकारले सामुदायिक विद्यालयमा दिवा खाजा परियोजना लागू गर्दै आएको छ । अहिले इसिडीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरु यो परियोजनामा समेटिएका छन् । यस परियोजनामा सहकार्य र सहयोग गर्दै आएको गोरखा नगरपालिकाले कल्स ओभर रिजेज नामक संस्थासँगको सहकार्यमा नगरपालिका भित्रका २० वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई पनि दिवा खाजाका लागि रकम उपलब्ध गराउँदै आएको छ । यस परियोजना अन्तरगत स्वस्थकर र पोषणयुक्त खाजा खुवाउनुपर्ने भनी उनीहरुले खाजाको मेनु समेत बनाएका छन् । तर अधिकांश विद्यालयका क्यान्टिनले आफ्नो सहजता र अनुकुलताका आधारमा मम, चाउमिन, चाउचाउ, लेज, कुरकुरे जस्ता जंक फुड दिदै आएको पाइयो ।
यस्ता खाजा सरकारले समेत निरुत्साहित गर्ने भनिरहेका बेला यसरी विद्यालयकै हाताभित्र संचालित क्यान्टिनबाट बिक्री वितरण हुनु पक्कै राम्रो होइन । पौष्टिक आहारले विद्यार्थीको शारीरिकसँगै मानसिक विकासमा प्रत्यक्ष सरोकार राखेको हुन्छ । जंक फुड आफैमा फाइदाजनक छैन त्यसमाथि कलिलै उमेरका बालबालिकालाई यसको प्रयोग कत्तिको उचित होला ? त्यो नियमनकारी निकाय आफैले मनन गर्ने विषय हो । जंक फुडलाई निरुत्साहित गरी स्वस्थकर र पोषणयुक्त खानेकुरामा जोड दिऔँ । विद्यालयमा संचालित क्यान्टिनबाट बिक्री वितरण हुने खाजाको नियमित अनुगमनमा ध्यान दिनु जरुरी छ । गुणस्तर पनि जोड दिनु उत्तिकै आवश्यक छ ।




