| सोमवार, कार्तिक २३, २०८३

प्राकृतिक सम्पदा दोहनमा सबै किन उद्दत ?

हरियो वन नेपालको धन भन्ने उक्ति साना ठूला सबैले सुनेकै हो । तर वन सम्पदा दोहन गरेर लखपति, करोडपति बन्न पल्केपछि अहिले यो कथन नै झुठा सावित भएको छ । कहिले दरबारमा पहुँच हुनेले वन विनाश गरे, कहिले सरकारमा पहुँच हुनेले । कहिले ठूलो पार्टीमा पहुँच हुनेले सखाप पारे, कहिले सबै दलका नेतालाई किन्न सक्ने तस्करले ध्वस्त पारे । कतिपय कर्मचारी सेटिङ मिलाउन सक्नेले वन विध्वंस पारे, कतिपय गुण्डागर्दी गर्नेले ।

जो जसले वन ध्वस्त पारे, उसकै फलिफाप भयो, सर्वसाधारण त्यसको दुश्प्रभावको सिकार बन्न बाध्य छन् । ठूलाले ठूलै परिमाणमा वन क्षेत्र विनाश गरे, सानाले सानै क्षेत्र तहसनहस पारेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ वन संरक्षण र व्यवस्थापन गर्नमा भन्दा कसरी बेचेर संस्थागत र व्यक्तिगत रुपमा धनार्जन गर्न सकिन्छ भन्नेमा उद्दत भए । रक्षक नै भक्षक बनेपछि कसको के लाग्छ र ? यस्तै समस्याको सिकार भएको छ, गोरखा नगरपालिका ४ को कुवापानीस्थित चनौटे महिला सामुदायिक वन । यहाँको वनक्षेत्रभित्र अवैध रुपमा ढुंगा खानी सञ्चालन गरिएको छ ।

केही समयदेखि वनक्षेत्रभित्रबाट रातारात ढुंगा चोरी निकासी भइरहेको छ भने, दिनदहाडै पनि ढुंगा ओसार्ने क्रम बढेको छ । घना जङ्गलभित्र लामो समयदेखि ढुङ्गाखानी सञ्चालन गरेका कारण आसपासका क्षेत्रमा पहिरोको त्रास बढेको छ । प्राकृतिक सम्पदा दोहनको बिरोध गर्नेको घरमै दलबल सहित गएर तर्साउने, धम्क्याउने गर्ने गरेका छन् । वडा कार्यालयमा हारगुहार माग्दा पनि वडा कार्यालयले सुनुवाइ नगर्ने गरेको समितिको गुनासो छ । प्राकृतिक सम्पदाको दोहन गर्न रोकी संरक्षणमा जोड दिनु जिम्मेवार व्यक्तिहरुको दायित्व हो । जिम्मेवार व्यक्ति नै तस्करहरुसंग मिलेमतो गर्नु दुखद हो ।

प्रतिक्रिया दिनुहोस्