
दरौँदी बिरिमकाली खानेपानी योजनाले एक महिनाभित्र पानी बाँड्ने, अख्तियारद्वारा छानबिन
निर्माण भइरहेका आयोजनाहरुमध्य तीन जिल्लाकै ठूलो दरौँदी विरिमकाली पम्पिङ खानेपानी आयोजनाले अबको एक महिनाभित्र उपभोक्ताको घरघरमा पानी पु¥याउने भएको छ । गोरखा नगरपालिका १०, ११ र १२ का करिब तीनहजार घरधुरीका उपभोक्तालाई पानी वितरण गर्ने उद्देश्यले निर्माण भइरहेको सो आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको संघीय खानेपानी आयोजना कार्यालय वेशिसहरले जनाएको छ ।
‘९० प्रतिशत काम आयोजना कार्यालयको हो, बाँकी १० प्रतिशतचाहिँ उपभोक्ताहरुको हो’, कार्यालय प्रमुख नरेश रेग्मीले भने, ‘कार्यालयले गर्ने ९० प्रतिशत कामको फिनिसिङ मात्र बाँकी छ । अब उपभोक्ताका तर्फबाट गर्ने केही काम बाँकी छ । विशेषगरी ‘हाउस कनेक्शन’को काम बाँकी छ । केही त्रुटीहरु मर्मतसम्भारको काम बाँकी छ । बाँकी काम सम्पन्न गर्न तीब्र रुपमा काम भइरहेको छ । एक महिनाभित्रै पानी वितरण गर्ने तयारीमा हामी छौँ ।’ फिनिसिङका कामहरु भइरहेको उनले बताए ।
सो आयोजना पम्पिङ आयोजना हो । ‘३० लिटर प्रतिसेकेण्ड पानी फ्याँक्ने क्षमताको आयोजना हो’, कार्यालय प्रमुख रेग्मीले भने, ‘उपभोक्ता र क्षमताका दृष्टिले यो आयोजना गोरखा, लम्जुङ र मनाङकै सबैभन्दा ठूलो आयोजना हो ।’ पानी वितरण सुरु भएपछि कार्यालयले उपभोक्ता समितिलाई आयोजना हस्तान्तरण गर्नेछ । त्यसको एकबर्षसम्म निर्माण कम्पनीले सञ्चालन गर्नेछ भने त्यसपछि सम्पूर्ण जिम्मा उपभोक्ता समितिको हुने कार्यालय प्रमुख रेग्मीले जानकारी दिए
६८ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने स्टिमेट गरिएको सो आयोजना ४८ करोड रुपैयाँमा निर्माण गर्न गत २०७६ असार मसान्तमा कन्काई, गोरखा, भीमेश्वर जेभी कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।
साँढे दुईबर्षभित्र निर्माण सम्पन्न गर्नेगरी योजना सम्झौता भएको भएपनि दुई पटक म्याद थप गरेपछि मात्र योजना सम्पन्न हुने चरणमा पुगेको हो । ‘निर्धारित समयमा काम सम्पन्न नभएपछि एकबर्षभित्र सम्पन्न गर्नेगरी २०७८ माघमा पहिलोपटक म्याद थप भयो’, उपभोक्ता समितिका अध्यक्ष राजकुमार कोइरालाले भने, ‘फेरि एकबर्षभित्र सम्पन्न गर्ने गरी २०७९ माघ मसान्तमा दोस्रोपटक म्याद थप भयो । दोस्रो पटक थप भएको म्यादभित्र काम सक्ने अबस्थामा छ ।’ कोभिडका कारण निर्धारित समयमा काम सक्न नसकिएको उनले बताए ।
आयोजनाको दुईवटा ट्रिटमेण्टप्लान्ट छ । ट्रिटमेण्टप्लाण्ट आसपास कार्यालय, गार्ड हाउस, चार ठाउँमा पम्पिङ सिस्टम, दुईलाख ५० हजार लिटर क्षमताका ट्याङ्की दुईवटा, डेढ लाख लिटर क्षमताका एउटा ट्याङ्की निर्माण भएका छन् । आधुनिक प्रविधि र उच्च गुणस्तरको डिआई पाइपको प्रयोग गरिएको जिल्लाकै पहिलो आयोजना भएको समितिको दाबी छ ।
अख्तियारद्वारा छानबीन सुरु
निर्माण सम्पन्न हुने चरणमा रहेको दरौँदी बिरिमकाली पम्पिङ खानेपानी आयोजनाका विभिन्न विषयमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गुरु गरेको छ ।उपभोक्ता समितिको नियमित साधारण सभा नभएको लगायतका कार्यालय व्यवस्थापन सम्बन्धी विषय र ट्रिटमेण्ट प्लाण्ट निर्माण गर्दा बगैँचा फँडानी गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले छानबिन गरेको हो ।
२०७४ माघ २७ गतेको भेलाले राजकुमार कोइरालाको अध्यक्षतामा नयाँ समिति गठन गरेपछि सो उपभोक्ता समितिको साधारण सभा नभएको समितिले स्वीकार गरेको छ । ‘बेलाबेला भेलाचाहिँ भइरहेको छ । २०७५ चैत ९ मा पनि ठूलो भेला भएको थियो, पछि २०८९ जेठ १५ गते पनि ठूलो भेला भएको थियो’, अध्यक्ष कोइरालाले भने, ‘तर साधारण सभा भनेरचाहिँ गरिएको छैन । कोभिडका कारण साधारणसभा, अधिवेशन नगर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन गरेका कारण गर्न नसकिएको हो ।’ अघिल्लो कार्यसमितिले बरबुझारथ नगरेका कारण पनि जटिलता उत्पन्न भएको उनको भनाइ छ । आयोजना सम्पन्न भएपछि साधारण सभा गर्ने योजना रहेको उनले बताए ।
साथै बगैँचा फँडानी बिषयको छानबिन भने समितिसंग भन्दा पनि डिभिजन वन कार्यालयसंग सम्बन्धित रहेको अध्यक्ष कोइरालाको दाबी छ । ‘१३३९ क्यूफिट काठ कटानीका लागि वन कार्यालयले दुईलाख ३० हजार रुपैयाँमा टेण्डर गरेको हो’, उनले भने, ‘त्यसमा समिति जोडिएको छैन ।’ गोरखाका ठूला खानेपानी आयोजनाहरु खानेपानी संस्थान माताहत सञ्चालन गर्न पहल गर्नुपर्ने अध्यक्ष कोइरालाको माग छ ।




