| आइतवार, कार्तिक २२, २०८३

गोनपा ११ मा बिना अनुमति वन क्षेत्रमा पूर्वाधार निर्माण, रोक्न वन कार्यालयको निर्देशन

गोरखा नगरपालिका–११ पन्ध्रकिलोस्थित ओख्लेपाखा सामुदायिक वन क्षेत्रमा बिनाअनुमति भइरहेको पूर्वाधार निर्माणको काम रोक्न डिभिजन वन कार्यालयले निर्देशन दिएको छ । डिभिजन वन कार्यालय मातहतको गोरखकाली सवडिभिजन वन कार्यालयले उक्त कार्य रोक्न भन्दै सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति, उपभोक्ता समिति तथा वडा कार्यालयलाई पत्राचार गरेको हो ।

विना अनुमति/इजाजत वन क्षेत्रमा पूर्वाधार (गुम्वा) निर्माण गर्न थालिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि स्थलगत निरीक्षण गर्दा वन क्षेत्रभित्र संरचना निर्माणको काम भइरहेको पाइएकाले काम रोक्न पत्राचार गरिएको कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए । ‘माघ ११ गते सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिलाई आवश्यक विवरण पेश गर्न सो कार्यमा संलग्नलाई कारवाही गर्न भनेर पत्राचार गरेका छौ,’ उनले भने, ‘सो काम तत्काल रोक्न पनि भनेका छौ ।’ वडा कार्यालयसँग सो योजनाको आवश्यक विवरण समेत माग गरिएको उनले जानकारी दिए । ‘त्यहाँ गुम्वा निर्माण गर्न भनेर साङ्गे छ्योलिङ गुम्वा चारकुने चौतारा निर्माण समिति पनि बनेको रहेछ, त्यो समितिलाई पनि आवश्यक जानकारी दिन भनेर पत्राचार गरेका छौँ,’ पौडेलले भने ।

वडा कार्यालयका प्राविधिक सुरोज श्रेष्ठले सो क्षेत्रमा गुम्वा निर्माण गर्न लागिएको जानकारी दिए । ‘योजना गुम्वा बनाउने हो, तर अहिलेलाई सपोर्टका लागि पछाडिको भागमा रिटर्निङ वाल लगाउने काम गरेका हौ,’ उनले भने । उक्त कामका लागि यो बर्ष वडाबाट तीन लाख रकम विनियोजन भएको उनले जानकारी दिए । तर वन क्षेत्रको विवादबारे वडाध्यक्ष रामबहादुर खड्काले आफूलाई केही नभनेको उनले बताए । यसबारेमा वडाध्यक्ष रामबहादुर खड्कासँग जानकारी लिन टेलिफोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्