गण्डकी गाउँपालिकाद्वारा दीर्घरोगी र गर्भवती महिलाको निःशुल्क स्वास्थ्य बीमा
गण्डकी गाउँपालिकाले आफ्ना पालिकाका दीर्घरोगी तथा गर्भवती महिलाहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर आइतबार गाउँपालिकाले सो कार्यक्रमको आरम्भ गरेको हो । गाउँपालिकाले वडा नं. ६ को आग्रीडाँडा सामुदायिक स्वास्थ्य इकाईमा आयोजित एक कार्यक्रमका बीच निःशुल्क स्वास्थ्य बीमाको आरम्भ गरिएको गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिनाले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटी र वडा नम्बर ६ का अध्यक्ष तुलबहादुर गुरुङले क्यान्सर पीडित परिवार र गर्भवती महिलालाई बीमा फाराम हस्तान्तरण गरेर कार्यक्रमको शुरुवात गरेका थिए ।गाउँपालिकाभरिमा हाल ८४ जना सूचीकृत भएका दिर्घरोगी रहेका छन् । दिर्घरोगीलाई वार्षिक एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा गरिने गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिनाले बताए । अध्यक्ष तिमिल्सिनाका अनुसार गर्भवती महिलाहरुको पनि एक वर्षका लागि स्वास्थ्य बीमा गरिएको छ ।
सुत्केरी हुँदा स्वास्थ्यमा कुनै समस्या आए आमा तथा बच्चाको स्वास्थ्य उपचारमा सहयोग पुगोस् भनेर गर्भवती महिलाको बीमा गरिएको उनले जानकारी दिए । गाउँपालिकाभरिमा एक सय जना गर्भवती महिला रहेको अनुमान गरिएको छ । गाउँपालिकाले सो कार्यक्रमका लागी चालु आर्थिक वर्ष १० लाख बजेट विनियोजन गरेको छ । निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिनका लागि गाँउकार्यपालिकाको बैठक बसी बजेट थप गर्दै लैजाने उनले बताए ।




