
गोरखा लायन्स आँखा सेवा केन्द्रमा ३९ जनाले गरे आँखाको शल्यक्रिया
नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा यस पटक ३९ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग तथा गोरखा लायन्स आँखा अस्पतालको समन्वयमा ३९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो । गोरखा नगरपालिकाका २० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको गोरखा लायन्स आँखा सेवाकेन्द्रका प्रमुख प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले बताए ।
जिल्लाका अन्य स्थानीय तहका १९ जना गरी उक्त संख्याको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको उनले जानकारी दिए । जसबाट महिला २१ जना र पुरुष १८ जनाले सेवा लिएका छन् । हरेक महिना १९, २० र २१ गते नियमित रुपमा सञ्चालन हुने आँखा शिविर सञ्चालन हुने गर्छ ।
१९ गते ट्रेसिङ हुने, २० गते शल्यक्रिया हुने र २१ गते आँखाको पट्टी खोल्ने कार्यक्रम रहेको केन्द्रका प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ छ । गोरखा नगरपालिका भित्रका आँखाको बिमारीको भने निःशुल्क शल्यक्रिया गरिने उनले बताए । ‘गोरखा नगरपालिका भित्रका बिमारीकोे उपचार तथा शल्यक्रिया निःशुल्क हुन्छ’, उनले भने, ‘अन्य पालिकाहरुको भने शुल्क लिएर सशुल्क नै उपचार गर्ने गर्छौ ।’
उनीहरुको आइतबार आँखाको पट्टी खोलिएको छ । हिमालय आँखा अस्पतालबाट आएका विशेषज्ञसहितको ६ जना टोलीको सहयोगमा उनीहरुको आँखाको शल्यक्रिया गरेका हुन् । सेवाकेन्द्रले सदरमुकामसहित विभिन्न नगर तथा गाउँपालिका, विद्यालयहरुमा कार्यतालिका बनाएर आँखा शिविर सञ्चालन गर्दै आएको उनले बताए ।




