| सोमवार, कार्तिक २३, २०८३

राम्रो काम गर्ने निर्माण व्यवसायलाई प्रोत्साहन गर

जिम्मा लिएको काम लामो समयसम्म अलपत्र पारेको, ताकेता गर्दा पनि वास्ता नगरेको र सम्पर्कमा पनि नरहेको भन्दै प्रधानमन्त्री कार्यालयको माताहतमा रहेको सार्वजनिक खरिद अनुगमन समितिको कार्यालयले हालै देशभरका २२ निर्माण व्यवसायिक फर्मलाई कालो सूचीमा राखेको छ । तीमध्य गोरखाका तीन निर्माण व्यवसायीका फर्महरु रहेका छन् ।

गोरखाका विभिन्न ठाउँका काम अलपत्र पारेको भन्दै राजकुमार श्रेष्ठको स्वामित्वमा रहेको लक्ष्मी कन्स्ट्रक्शन प्रालि, देवेन्द्रजंग कुँबरको स्वामित्वमा रहेको अनुपम निर्माण सेवा र राजेन्द्र सुनारको स्वामित्वमा रहेको अन्नपूर्ण निर्माण सेवालाई कार्यालयले कालोसूचीमा राखेको हो ।

उनीहरु जस्ता काम नगर्ने ठेकेदारहरु अरु पनि छन् । बर्षौदेखि काम अलपत्र पार्ने, संपर्कमा नआउने र लगभग अब काम नगर्ने गरी काम छाड्ने ठेकेदारहरु अरु पनि छन् । तिनको क्रियाकलाप विभिन्न विकास निर्माणको काम गर्ने कार्यालयहरुलाई जानकारी पनि छ तर तिनीहरुलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छैन । काम नगर्ने ठेकेदार भनेका विकासका अवरोधक हुन् । उनीहरुलाई माया गर्नुपर्ने, जोगाउनु पर्ने कुनै ठाउँ नै हुदैन । कालोसूचीमा राख्न सिफारिस गर्न सक्नुपर्छ,जसरी उपरोक्त तीन फर्मलाई कालोसूचीमा राख्न विभिन्न कार्यालयहरुले सिफारिस गरेका थिए ।

यसो भनिरहँदा सबै निर्माण व्यवसायीप्रति बक्रदृष्टि गरिएको भने होइन । सबै ठाउँका, सबै क्षेत्रका सबैजना असल हुदैनन् । कोही असल हुन्छन्, कोही खराब हुन्छन् । खराबलाई हेरेर सबै खराब भन्न पनि मिल्दैन, असललाई हेरेर सबै असल भन्न पनि मिल्दैन ।

त्यसैले खराबलाई कारबाही गर्न जसरी हिच्किचाउनु हुदैन, त्यसैगरी असललाई पुरस्कृत गर्नुपर्छ वा कुनै न कुनै तबरले प्रोत्साहित पनि गर्नुपर्छ । दण्ड र पुरस्कारको ब्यबस्थाले राम्रो कामको वृद्धि हुने र नराम्रो काम न्यूनिकरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्