| सोमवार, कार्तिक २३, २०८३

ऐतिहासिक मिरकोटगढीको संरक्षण र विकास गरौँ

‘जहाँ ढुंगाढुंगामा देवताको बास छ, जहाँ थुम्काथुम्कामा स्वर्गको आभास छ, त्यो देश मेरो हो भन्ने ओम गुरुङको शव्द, संगीत र स्वरमा गुञ्जिने गीतले भने झैँ, नेपालका ढुंगाढुंगामा देवताका थान देख्न पाइन्छ, हरडाँडाकाँडा, चुचुरा, टाकुरामा इतिहासका कथा, कहानी सुन्न पाइन्छ । यसरी सजिएको नेपालको पर्याय हो गोरखा । नेपालको यो भूगोलको जन्मदाता हो गोरखा । गोरखाको झन्, जहाँतहीँ इतिहासले भरिएका छन्, देवदेवीको थान, मन्दिरले सजिएका छन् ।

तीमध्यको एक हो, मिरकोटगढी र त्यहाँअवस्थित लकाङकाली देवीथान । यहाँ वि.सं. १६६५ मा महन्तद्वारा निर्मित विश्वेश्वर महादेव मन्दिर पनि रहेको छ । मिरवंशी राजाको दरबार, किल्ला, गढीहरु छन् । वौद्धगुम्बा छन्, टुँडिखेल छ । यी सबैको समग्र विकास गर्न सके यहाँको ऐतिहासिक पर्यटन विकास हुने थियो । यसको संरक्षण र प्रवद्र्धन गर्न वडा कार्यालय र स्थानीय युवाहरु घुँडा धसेर लागिपरेका छन् । तर यो जोडबल अपुग हुनेछ । इतिहासको संरक्षण गर्न र विकास गर्न राज्यका सम्बन्धित निकाय लाग्नुपर्दछ । पुरातत्व विभाग, केन्द्र सरकारको मन्त्रालय, प्रदेश सरकारका मन्त्रालय, नगरपालिका पनि लाग्नुपर्छ ।

हातमुख जोर्ने ध्याउन्नमा लागेका स्थानीयबासीले त यसमा सहयोग, समर्थन र समन्वय गर्न सक्छन्, बजेट बनाएर खर्च गर्न सक्दैनन् । त्यसका लागि स्थानीय नेतृत्व गर्ने वर्गको ध्यान, मन जानु आवश्यक छ । यहाँ राज्यको मुख्य ठाउँमा पहुँच पुग्ने नेतृत्व नभएका होइनन्, छन् । एउटै सडकमा पाँचवटा शीर्षक बनाएर बजेट विनियोजन गर्न समर्थ उनीहरुले ऐतिहासिक स्थलको संरक्षण, जगेर्ना, विकास र प्रचारप्रसार गर्न यहाँ उनीहरुको नजरको खाँचो छ, उनीहरुको मन, ध्यानको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्