
वन क्षेत्रमा जथाभावी सडक बनाउने कामलाई निरुत्साहित गर
सडक आजको आवश्यकता हो । विकासमध्य सबै प्राथमिक विकास सडक नै हो । वन क्षेत्रमा सडक बनाउने क्रम बढेपछि वन कार्यालयले यस्ता गतिविधिलाई निरुत्साहित गर्न थालेको छ । सबै ठाउँमा यो लागु नहुन सक्छ, तर कतिपय अबस्थामा सडक निर्माण गर्ने भन्दा पनि वन सम्पदाको उपभोग गर्ने मूल(लुकेको) उद्देश्य राखेर वन क्षेत्रमा सडक निर्माण गर्ने गर्छन् । यस्ता कार्यलाई निरुत्साहित गर्न वन कार्यालय, सर्वसाधारण, जनप्रतिनिधि सबै लागिपर्नुपर्छ ।
अहिले बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर १ को ओग्रापौवा खोलादेखि लिस्याङवुङसम्म नयाँ ट्रयाक खन्न इप्चेना तथा सुनानपाखा सामुदायिक वन क्षेत्रमा बिनाअनुमति डोजर चलाएको पाइएको छ । विनाअनुमति वन क्षेत्रमा डोजर चलेको थाहा पाएपछि डिभिजन वन कार्यालयको टोलीले सोमवार सो क्षेत्रको स्थलगत निरीक्षण गरी काम रोक्न निर्देशन दिएको छ ।
वन क्षेत्रभित्र ३०—४० मिटर ट्रयाक निर्माण भइसकेको छ । त्यसैले कार्यालयले काम रोक्न लगाएको छ । वन ऐन विपरीत काम गर्न नहुने भन्दै कार्यालयले सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिलाई पत्राचार समेत गरेको छ ।
यो बर्ष पालिकाले दश लाख रुपैयाँ विनियोजन गरेको उक्त योजनामा गत बर्ष पनि १५ लाख रकम विनियोजन भएको थियो । तर वन क्षेत्र परेकै कारण काम हुन सकेको थिएन । अहिले भने वन ऐन विपरीत वन क्षेत्रभित्रबाट सडक निर्माणको काम अघि बढेको हो । डिभिजन वन कार्यालयका अनुसार नेपाल सरकारको निर्णय वा स्वीकृति बिना वन क्षेत्रमा कुनै पनि योजना संचालन गर्न पाइँदैन । तर यहाँ पालिकाले विना अनुमति वन क्षेत्र मास्दै नयाँ ट्रयाक खोलिरहेको छ । वन कार्यालयलाई भने जानकारी समेत गराइएको छैन । वन क्षेत्रभित्र सडक निर्माण गर्नु कानून विपरीत हो । कानून विपरीतका काम गर्न कोही पनि लालयित हुनुहुदैन ।




