
गोरखाका विभिन्न सडकका लागि ५० करोड रुपैयाँ थप
गोरखाका विभिन्न सडक निर्माणका लागि ५० करोड रुपैयाँ थप भएको छ । यसबर्ष ठेक्का लागेका चारवटा सडकखण्ड र निर्वाचन क्षेत्रस्तरीय सडकका लागि अर्थ मन्त्रालयले रकम थप गरेको हो । भीमसेन थापाको धावा–कोयाभन्ज्याङ हुदैँ वडा नम्वर ४ र २ जोड्ने सडक, शहिदलखन गाउँपालिकाको रामशाहघाट–मनकामना बजार–जुम्लीचौतारा–तीनमाने सडकका लागि १०/१० करोडका दरले बजेट थप भएको छ । त्यस्तै बिमलनगरदेखि पालुङटारको पौवाटार–ठाँटीपोखरी–केराबारी–दूधपोखरी सडक र पालुङटारको सातदोबाटो–जोगिडिही–बागडाँडा–पन्थिनी–गाईखुर सडकका लागि १०/१० करोडका दरले रकम थप भएर आएको गोरखा सडक योजना कार्यालयले जनाएको छ ।
‘यी योजनाका लागि हामीले अघिल्लो चरणमा २० करोडका दरले रकम माग गरेका थियौँ,’ कार्यालय प्रमुख अमिन्द्र खड्काले भने, ‘तर पाँच करोडका दरले मात्र रकम विनियोजन भएको थियो । अहिले फेरि थप भएको आएको छ ।’ एक बर्षमा काम सक्ने गरी यी योजनाहरु ठेक्का लागिसकेको बताउँदै उनले थपे, ‘अव यी योजना बहुबर्षीयमा जान्छन् । अहिले ठेक्का लागेको बाहेकका ठाउँमा तत्काल अर्काे ठेक्का खोलेर कामको प्रक्रिया अघि बढाउछौँ ।’ उक्त रकमबाट चार वटै योजनाको करिव तीन किलोमिटरका दरले सडक कालोपत्रे हुने उनले जानकारी दिए । दुवै निर्वाचन क्षेत्रका दुई/दुई योजनामा बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार निर्वाचन क्षेत्र सडकका लागि पनि थप दश करोड रकम विनियोजन भएको छ । निर्वाचन क्षेत्रका दुई सडक योजनाका लागि पाँच करोडका दरले थप रकम विनियोजन भएको कार्यालय प्रमुख खड्काले बताए । रकम अभावका कारण देखाउँदै कार्यालयले भुक्तानी नदिदाँ निर्माण कम्पनीले काम रोक्दै आएका छन् । गोरखा निर्वाचन क्षेत्र नम्वर १ अन्तरगतको गण्डकी गाउँपालिका–५ दर्वुङफाँटदेखि लाकुरीबोट हुँदै दलभन्ज्याङसम्मको सडक कालोपत्रेको जिम्मा पाएको रायमाझी नवकान्तिपुर जेभीले करिव दुई करोड रकम भुक्तानी लिन बाँकी रहेको छ । रकम नपाएपछि करिव ६ महिनादेखि काम हुन सकेको छैन । उक्त सडक कालोपत्रेका लागि २०७९ असार १० गते सम्झौता भएको हो । दुई बर्षमा काम सक्ने गरी सम्झौता भएपनि हालसम्म ५२ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ । कुल नौ किलोमिटर सडक कालोपत्रेका लागि २४ करोड ८२ लाख मा ठेक्का सम्झौता भएको हो ।
यता निर्वाचन क्षेत्र नम्वर २ अन्तरगत घ्याम्पेशाल ताकुकोट हुँडीखोला स्वाँरा सौरपानी रन्चोक पोखरी हुदै बारपाक सडक स्तरोन्नतिको जिम्मा पाएको पिआर/नाना रिनाइसेन्स जेभीले यो बर्ष बजेट सुनिश्चित नभएका कारण काम गर्न अन्योल भएको बताउँदै आएको थियो । उक्त सडक स्तरोन्नतिका लागि २०७९ असार ९ गते सम्झौता भएको हो । कामको भुक्तानी नपाएकै कारण निर्माण व्यवसायीले कामलाई द्रुत रुपमा अघि बढाउन सकेको छैन । दुई बर्षमा सक्नुपर्ने उक्त योजनाको हालसम्म २२ प्रतिशत मात्र भौतिक प्रगति छ । कार्यालयका अनुसार २५ करोड ८४ लाखमा ठेक्का सम्झौता भएको हो ।
भुक्तानी दिन नसक्दा काम हुन नसकेको बताउँदै आएका कार्यालय प्रमुख खड्काले अव भने कामले गति लिने अपेक्षा गरेका छन् । ‘थप रकम विनियोजन भएको छ, अव निर्माण कम्पनीलाई भुक्तानी पनिदिन्छौं, काम पनि तिव्र गतिमा अघि बढाउन भन्छौँ,’ उनले भने ।




