
ऐतिहासिक तातोपानी मेलालाई भव्य र सभ्य बनाऔँ
कुनै बेला थियो, गते, बार, तिथिहरुपिच्छे मेला, जात्रा हुने । तर ती दिन अहिले छैन । मनोरञ्जन लिने अन्य वैकल्पिक माध्यमको विकास भएपछि अहिले जात्रा, मेलाहरु लोप भएका छन् । तर ऐतिहासिक तातोपानी मेला भने अहिलेसम्म निरन्तर चलिरहेको छ । धार्चे ३ तातोपानीमा आयोजना हुने भएकाले यसलाई तातोपानी मेला भनिएको हो । यसको अर्को नाम मितिनी मेला पनि थियो । धेरै गाउँ टोलका मान्छेहरु भेटघाट हुने र सम्बन्ध सुमधुर बनाउने अवसर मिल्ने हुँदा यस मेलालाई मितिनी मेला पनि भनिन्थ्यो । सो मेलामा मितिनी लगाउने प्रचलन अहिले पनि छ, तर ज्यादै न्यून । दुर्लभ यो परम्परा स्वयंमा महत्वपूर्ण छ ।
यो मेला दशकौं अघिदेखि तातोपानीमा हुने गरेको थियो । तर पर्याप्त ठाउँको अभावका कारण सोही वडाको खोर्लाबेशीमा स्थानान्तरण गरिएको छ । ठाउँ परिवर्तन गरे पनि मेलाको नाम भने यथावतै राखिएको छ । यहाँको मेलामा हुल्चुक, दोभान, केरौंजा, रुञ्चेत, उहिया, माछाखोला, अन्तरवेशी, तातोपानी, खोर्लागाउँ, खोर्लावेशी, लापुगाउँ, लापुवेशी, खानीगाउँ, खानीवेशी, काशिगाउँ, यार्सा, सिङ्ला, लाप्राक, गुम्दा, यमगाउँ, लप्सीबोट, भीरकुना, अर्मला, सोती, मान्बु, आर्खेत, आरुघाटदेखिका जात्रुहरु पुग्छन् । साथै बारपाक, घ्याच्चोक, कुलगाउँ, पोखरी, रञ्चोक, सौरपानीदेखिका जात्रुहरु पनि त्यहाँ जाने गर्छन् ।
सबै ठाउँको मेला जात्र बन्द भएर त्यहाँ मात्र बाँकी रहेकाले पनि मान्छेहरुको आकर्षण बढेको छ । तर दुखपूर्वक भन्नुपर्छ, त्यहाँ जुवा, तास खेल्ने परम्परा पनि छ । सो परम्परा हटाउनका लागि स्थानीय स्तरमा, सुरक्षा निकायको स्तरबाट पनि धेरै पहलहरु भएका हुन्, यद्यपि हटाउन नसकिएको अबस्था छ । यो बाहेक तातोपानी मेलाको ख्याति ठूलो छ । यसलाई बचाइ राख्नु पर्छ । यसलाई हराउन दिनु हुदैन । सभ्य र भव्य बनाइराख्नका लागि स्थानीय नयाँ पुस्ताका युवाहरुले काँधमा जिम्मेवारी लिनुपर्छ ।




