
भीमसेनथापाद्वारा झिँगटे, अश्राङ, बोर्लाङ सडक स्तरोन्नतिको प्रक्रिया सुरु
गोरखाको भीमसेन थापा गाउँपालिकाअन्र्तगत झिंगटेदेखि अश्राङ्ग हुँदै बोर्लाङ सडक स्तरउन्नतिका लागि प्रक्रिया सुरु गरिएको छ । अनलाईनमार्फत ठेक्का आव्हान गरिएको पालिकाले जनाएको छ । एक करोडको उक्त ठेक्काको जिम्मा काठमाडौँको क्रिएटिभ—भारद्वाज जेभी टोखाले प्राप्त गरेको छ ।
‘सडक स्तरउन्नति अन्तर्गत ढलान, रिटेनिङ्ग वाल निर्माण र ग्याभिन वाल निर्माणको काम हुन्छ’, पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले भने, ‘पालिकाकै लागतमा सडक स्तरउन्नति हुन लागेको हो ।’ आउँदो चैत मसान्तसम्ममा काम सरिसक्नुपर्ने गरी ठेक्का सम्झौता गर्ने तयारी पालिकाको रहेकोे अधिकारीले जानकारी दिए ।
सम्झौता भने केहीदिन भित्रै हुने उनले बताए । ‘आशयको सूचना प्रकाशन भैसकेको छ’, उनले भने, ‘अब सम्झौता गरेर काम सुरु गरिहाल्छौँ ।’
भीमसेन थापा गाउँपालिका वडा नं ६,७ र ८ अन्तर्गत पर्ने उक्त आयोजनाले त्यहाँको स्थानीयबासीहरुलाई धेरै सहज हुने पालिकाका सूचना अधिकृत खुबप्रसाद धितालले बताए । ‘बर्खाको बेला सडकमा एम्बुलेन्स, यात्रुबाहक सवारी साधनहरु र खाद्यान्नको गाडीहरु गुड्न सम्भव थिएन’, उनले भने, ‘सडक स्तरउन्नति भएपछि बाहैमास आवतजावत गर्न सकिन्छ ।’ उक्त सडक बनेपछि भिंगटे बजारदेखि अश्राङ्ग बोर्लाङ लगायतका ठाउँहरुमा सवारी चलाउनका लागि सहज भएको र थप स्तरउन्नति भएपछि आवतजावतमा अबरोध नआउने उनले बताए ।
पालिका अहिले चक्रपथ निमार्णको तयारीमा जुटेको छ । चक्रपथ अन्र्तगत झिंगटे अश्राङ्ग बोर्लाङ सडक पनि पर्छ । उक्त चक्रपथ अन्र्तगतको तेस्रो खण्डको पनि एक करोड ६० लाखमा ठेक्का आव्हान भएको र केही दिनमै सम्झौँता हुने तयारी भैरहेको पालिकाले जनाएको छ ।




