| सोमवार, कार्तिक २३, २०८३

पालिकाको मूल्यांकन: जस्तो काम उस्तै परिणाम

विद्यार्थीहरुको परीक्षा बर्षमा एकफेर हुन्छ, सेवा प्रदायक निकायको परीक्षा दैनिक हुन्छ । उनीहरुको कामको यथार्थ मूल्यांकन सेवाग्राहीले गरिरहेका हुन्छन् । स्थानीय तहहरुको मूल्यांकन पनि सेवाग्राही, मतदाताहरुले दैनन्दिन गरिरहन्छन् । स्थानीय तहका जनप्रतिनिधिहरुले कस्तो काम गरे, कसरी काम गरे ? सँधै, सबै मूल्यांकन भइरहन्छ । त्यसलाई प्राविधिक मानकीकरण पनि हुने गर्छ । पालिकाहरुको बर्षेनी संस्थागत क्षमता स्वमूल्याकंन हुने गर्छ । यसको प्राप्तांकका आधारमा पालिकाहरुको स्तर निर्धारण हुन्छ । यसले पालिकाहरुको प्रस्तुतीकरण दर्शाउँछ ।

गोरखाका ११ स्थानीय तहमध्य यसबर्ष सबैभन्दा उत्कृष्ठ प्रस्तुतीकरण सहिद लखन गाउँपालिकाले ग¥यो । १०० अंकमा गरिएको स्वमूल्यांकनमा शदिदलखन गाउँपालिकाले ८७ अंक प्राप्त गरेर गोरखाको गौरव बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनमा सो पालिकाले कुल ८७ प्रतिशत अंक प्राप्त गरेको हो । बिभिन्न १० सूचक र १०० उपसूचकका आधारमा स्थानीय तहहरुको संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरिन्छ । दोस्रो स्थानमा बारपाक सुलीकोट रहेको छ । यस पालिकाले गतबर्ष सार्वोच्च स्थान पाएको थियो । अरु पालिकाहरुले पनि मिहिनेत नगरेका त होइनन्, तर तुलना गरेपछि एउटा अगाडि, अर्को पछाडि भई नै हाल्छ ।

तर यसरी चित्त बुझाएर मात्र पनि हुदैन किनभने छिमेकी पालिकाका कर्मचारीहरुको कार्यशैली उत्कृष्ठ हुनसक्छन्, उनीहरुको योजना छनौट र कार्यान्वयन गरी त्यसको लक्ष्य हात पार्ने कार्यशैली उत्कृष्ठ हुनसक्छ । राम्रा कामहरु जो सुकैको देखासिकी गर्नु राम्रो हुन्छ । संकीर्ण सोच, राजनीतिक गतिविधि हावी, कार्यपालिकाको बैठक बस्ने नसक्ने, समयमा योजना, बजेट बनाउन नसक्ने, सभा गर्न पनि नसक्ने, गरेका कार्यक्रमहरु सार्वजनिक गर्न नसक्ने, चालु खर्च मात्र गर्ने, पुँजिगत खर्च गर्न नसक्ने पालिकाहरुको प्राप्तांक दरिद्र हुन्छन् । यस बर्ष जो जसको प्राप्ताङ्क लज्जास्पद भए, उनीहरुले आउँदो बर्ष उत्कृष्ट स्थान ताकेर काम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्