
पालिकाहरुको विकास खर्च बिगतभन्दा वृद्धि होओस्
एकाधबाहेक गोरखाका सबै नगरपालिका तथा गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएका छन् । पालिकाहरुको यो अभ्यास भएको सात बर्ष भइसकेको छ । सात बर्षे अभ्यासले अब धेरै कुरामा अनभिज्ञताका कारण अलमल गर्नुपर्ने अवस्था छैन ।
छिमेकी जिल्ला तनहूँको अझै छिमेकी पालिका आँबुखैरेनी गाउँपालिकाले आर्थिक बर्षको छ महिना बित्दानबित्दै झण्डै ८० प्रतिशत विकास बजेट खर्च गरेको छ भने बाँकी योजनामध्य अधिकांशको सम्झौता गरेर काम अघि बढिसकेको छ । सम्पन्न भएका कामको भुक्तानी पनि भइसकेको छ । यसले सो पालिकाको विकास बजेट यस आर्थिक बर्ष ९५ प्रतिशतभन्दा धेरै खर्च हुने पक्का छ ।
अहिलेसम्मको अबस्था हेर्दा गोरखाका पालिकाहरुले यस्तो शुभ लक्षण देखिएको छैन । बिगत बर्ष पनि पालिकाहरुले विकास बजेट औसतमा ६० प्रतिशतसम्म खर्च गरेका थिए । चालु खर्च मनग्य गरेका पालिकाहरुले पुँजीगत खर्चमा आशातीन प्रगति गर्न सकेका थिएनन् । यसबर्ष पनि खासै धेरै प्रगति देखिएको छैन ।
बजेट भएन, योजना भएन, विकास भएन भन्ने समस्या एकातिर छ, योजना र त्यसका लागि बजेट भएर पनि कार्य क्षमता नभएर विकास अपेक्षित हुन नसकेको अबस्था हामी सामु छ । यो हुनु हाम्रा सामु लज्जाका विषय हुन् । नयाँ पुस्ताले हाम्रा कार्यशैली, कार्यक्षमतामा प्रश्न त्यसैले उठाउने हुन् ।
बोल्न, भाषण गर्न, आलोचना गर्न, कुतर्क गर्न, कुरा काट्न, आशंका गर्न माहिर हामीमा आफूले गर्नुपर्ने काम गर्ने क्षमताको भने खडेरी छ ।
अझै आर्थिक बर्ष सकिन छ महिना बाँकी छ । यो अवधिमा पर्याप्त सोचबिचार गरेर प्रसस्त गृहकार्य गरेर अघि बढेमा आफ्नो पालिकामा यथेष्ट योजना अघि बढाउन सकिन्छ । विकास बजेट खर्च गरेर देखाउन सकिने समय अझै बाँकी छ ।




