
पालुङटार एयरपोर्टलाई गौचरन क्षेत्र बन्न नदेउ
विगत ४४ बर्षदेखि जहाज अवतरण र उडान भर्न नसकेको पालुङटार एयरपोर्ट नेताहरुको चुनावी एजेण्डामा भने कहिलै छुटेको छैन । चाहे स्थानीय तह निर्वाचन होस् वा प्रतिनिधि सभा सदस्य निर्वाचन, उम्मेदवारले यही एयरपोर्टलाई चुनावी एजेण्डा बनाएर स्थानीयको सेन्टिमेन्ट जित्ने कोसिस गरेका थिए । गोरखा निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित भएर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले पनि चुनावी एजेण्डामा यस एयरपोर्टलाई छुटाएका थिएनन् । चुनाव अघि एयरपोर्ट संचालनका लागी पहल गर्ने बताएका उनी आफू प्रधानमन्त्री बने तर एयरपोर्ट संचालनका लागी कुनै पहल गरेको देखिएन ।
पालुङटारलाई तनहूँ, लम्जुङ र गोरखाको केन्द्रको रुपमा बिकसित गर्ने सम्भावना बोकेको एयरपोर्ट बर्षाैदेखि संचालनमा नआउँदा राज्यले नै घाटा व्यहोर्नु परेको छ । केही बर्षअघि काठमाण्डौ, पोखरा र भरतपुर उडान भर्ने यस एयरपोर्ट अहिले गौचरनमा परिणत भइसकेको छ । पुनः संचालन गर्ने हेतुले एयरपोर्ट स्तरोन्नतीका लागी बजेट विनियोजन पनि भएर काम अघि बढेको थियो । तर जग्गा स्वामित्वकै बिषयमा विवाद बल्झिएपछि कामले निरन्तरता पाउन सकेन ।
यथाशिघ्र एयरपोर्ट संचालनमा ल्याउन सके जिल्लाको मात्र होइन राज्यको अर्थतन्त्र सुधारमा पनि यसले सकारात्मक भूमिका निर्वाह गर्छ भन्नेमा दुई मत छैन । विवाद समाधानका लागी सम्बन्धित निकाय र सरोकारवालाहरुको पहलकदमी आवश्यक छ । हुन त अहिले धेरै ठाउँमा सडक सञ्जालको सहज पहुँच छ । आर्थिक हिसावले पनि हवाई मार्गको यात्रामा रुची कम हुन सक्छ । दैनिक जहाज उडान भर्न नसकेपनि यसलाई अल्ट्रालाइट, प्याराग्लाइडिङ, स्काईडाइभिङको जोन बनाएर पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् । एयरपोर्टलाई गौचरन क्षेत्र बन्न बाट जोगाऔ ।




