| सोमवार, कार्तिक २३, २०८३

गोरखामा ज्यान मार्ने उद्योगको आरोपमा दुई पक्राउ

ज्यान मार्ने उद्योगको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–४ बेलटारका २९ बर्षिय कृष्ण भुजेल र वडा नम्वर १० धौखोला चारघरेका ६० बर्षिय तिलकबहादुर बिश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।

काम गरेको ज्याला माग्ने क्रममा विवाद भएपछि सोमवार बेलुकी साढे सात बजेको समयमा भुजेलले रामबहादुर शाहलाई चुप्पीले घाँटीमा प्रहार गरी घाइते बनाएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।

‘रामबहादुरले भुजेलसँग काम गरेको ज्याला मागेको निहुँमा विवाद भएछ,’ उनले भने, ‘त्यही बेला भुजेलले ज्यानै मार्ने नियतले रामबहादुरलाई चुप्पीले घाँटीमा प्रहार गरेर घाइते बनाएछ ।’ भुजेललाई सोमवार पक्राउ गरिएको र मंगलवार उनी बिरुद्ध ज्यान मार्ने उद्योग कसुर शीर्षकमा मुद्दा दर्ता भएको डिएसपी श्रेष्ठले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । घाइतेको अवस्था गम्भिर रहेको र हाल उनको तुरतुरेको सामुदायिक क्लिनिक हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

त्यस्तै ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परेका तिलकबहादुरले शनिवार राती करिव दश बजेको समयमा आफ्नै भाइ ४७ बर्षिय हिराबहादुर बिश्वकर्मालाई ज्यान मार्ने नियतले खुर्पाले टाउको र गालामा प्रहार गरी गम्भिर घाइते बनाएको प्रहरीले जनाएको छ ।

तिलकबहादुरलाई पनि सोमवार पक्राउ गरी मंगलवार ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता भएको डिएसपी श्रेष्ठले बताए । उनका अनुसार घाइते हिराबहादुरको अन्नपूर्ण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्