
कृषि तथा पर्यटन मेलामा कृषि उत्पादनलाई प्रोत्साहन गर
गोरखा बजारमा अहिले कृषि, व्यापार तथा पर्यटन मेला सञ्चालित छ । नाम जस्तै मेलामा कृषिका स्टलहरु पनि छन्, व्यापारिक स्टलहरु त झन् हुने नै भए । अनि अवलोकन गर्नेहरुका कारण पर्यटटन विकास हुने हुँदा शीर्षक अनुसार मेला सञ्चालन भइरहेको छ ।
यसका अलवा मेलाले सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गरिरहेको छ । लोक, पप, आधुनिक गीतका गायक तथा हाँस्यव्याङ्ग्य कलाकारहरुको प्रस्तुतीले कला र संस्कृतिको प्रवद्र्धन भइरहेको छ । कार्यक्रममा हरेक दिन नयाँ नयाँ कलाकारको नयाँनयाँ प्रस्तुतीहरु रहेका छन् ।अरु त सहायक हुन्, मेलाले विशेष गरी स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नुपर्छ । धार्चेको एउटा स्टलले त्यस भेगमा उत्पादन हुने स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा व्यापार गरिरहेको छ । विशेषगरी धार्चेको आलु, धार्चेको मह, धार्चेको ट्राउट माछा, धार्चेको राज्मा, दाल, छ्यापी, सिलाम, जटिबुटीहरुको प्रदर्शनी तथा व्यापार भइरहेको छ ।
गोरखा नगरपालिका १३, बैटारीमा उत्पादन भएको जीतबहादुर भट्टको एकसय रोपनी क्षेत्रफलमा लगाइएको खुर्सानी फर्मको अकबरे खुर्सानीको पनि प्रदर्शन भइरहेको छ । यस्ता कृषि उत्पादनलाई प्रवद्र्धन गर्न मेला आयोजकले विशेष प्याकेज कार्यक्रम गर्नुपर्छ । त्यसका लागि कृषि ज्ञानकेन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय, एफएओ जस्ता सरकारी, गैरसरकारी संस्थाहरुसंग समन्वय, सहाकार्य गर्न सकेको भए अति उत्तम हुने थियो । उनीहरुबाट एवार्ड, रिवार्डको व्यवस्था गर्न सकेमा कृषि उत्पादनलाई प्राथमिकता र प्रोत्साहन दिएको ठहरिन्छ ।
अबका मेला, महोत्सवमा कृषि तथा पशुपालनसम्बन्धी सर्व सुलभ ठाउँमा विशेषखालको स्टल निर्माण गर्ने, अवलोकनकर्ताहरुमैत्री स्टलहर बनाउने गर्नुपर्छ । त्यस्तै कतै यस्तो स्टल होओस्, जहाँ गोरखाका भ्रमण गर्नयोग्य स्थलहरुको तस्वीर वा भिडियो प्रदर्शनी भइरहोस् । यसले गर्दा पर्यटन मेला ठहर्दछ ।




