
मनास्लु क्षेत्रमा नौहजार भन्दा धेरै विदेशी पर्यटक
गोरखाको मनास्लु क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै नौहजार १७७ जना विदेशी पर्यटक पुगेका छन् । यसअघि सबैभन्दा धेरै पर्यटक आएको भनिएको सन् २०१७ सालमा भन्दा सन् २०२३ मा एकहजार पाँचसय जनाले धेरै पर्यटक आएका मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जनाएको छ ।
छ बर्षअघि सन् २०१७ मा सातहजार छसय ५५ जना विदेशी पर्यटकले मनास्लु क्षेत्र भ्रमण गरेका थिए । सन् २०२३ मा नौ हजार १७७ जना विदेशी पर्यटकले भ्रमण गरेको एमक्यापका प्रमुख सन्तोष शेरचनले बताए । ‘यसबर्ष पर्यटकको आवागमन हेर्दा साह्रै सुखद देखिन्छ’, शेरचनले भने, ‘आउँदो असारसम्म १२ हजार पर्यटकले भ्रमण गर्ने हाम्रो अनुमान छ ।’
बिगत चारबर्षमा कोभिडका कारण पर्यटकको संख्या ज्यादै न्यून थियो । आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा कम अर्थात जम्मा एक सय ९४ जनामात्र पर्यटक सो क्षेत्रमा पुगेका उनले जानकारी दिए ।
गतबर्ष सबैभन्दा धेरै अक्टोबर महिनामा पर्यटकले भ्रमण गरेका हुन् । सो महिनामा सो क्षेत्रमा तीनहजार ३०५ जना पर्यटक पुगेका थिए ।
मनास्लु क्षेत्रमा सन् २०२२ मा छहजार १०२ विदेशी पर्यटकले भ्रमण गरेका थिए भने, कोभिड १९ महामारी मच्चिरहेको २०२१ मा ९२५ जनाले भ्रमण गरेका थिए । त्यस्तै २०२० मा ३७४, २०१९ मा सातहजार ५५५ जनाले र सन २०१८ मा सातहजार ६५५ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए ।
स्थानीय तह, प्रदेश तथा संघ सरकारले विस्तृत रुपमा योजना बनाएर लाग्ने हो भने मनास्लु क्षेत्र पर्यटक आकर्षित गर्नेमा विश्व नम्बर एक गन्तव्य बन्न सक्ने एमक्याप प्रमुख सन्तोष शेरचनले बताए । ‘सडकको साँटो केवलकारको व्यवस्था गर्ने, इको टुरिज्म विकास गर्ने हो भने मनास्लु क्षेत्र विश्व नम्बर वान बन्न सक्छ’, उनले भने, ‘त्यसका लागि अहिले झैँ सडक निर्माण नगरी यातायातका लागि केवलकार निर्माण गर्ने, वातावरण मैत्री संरचना बनाउनु पर्छ ।’
एमक्यापमा आउने पर्यटकलाई सहजताका लागि विभिन्न पदमार्गको खोजी गर्ने, आवश्यक सूचनाहरु दिन सूचना केन्द्र निर्माण गर्ने जस्ता पूर्वधारहरु बनाएको उनले बताए । यसले आगामि दिनमा मनास्लु क्षेत्रमा आउने पर्यटकको संख्या बढ्ने अनुमान गरिएको छ । साथै एमक्यापलाई अभैmे लोकप्रिय बनाउन स्थानीय तह, पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, टानजस्ता सम्बन्धित निकायहरुले विभिन्न प्याकेजहरु ल्याउनु पर्नेमा उनले जोड दिए ।
सो क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिब्यक्ति एक हजार र अन्य राष्ट्रका पर्यटकले तीन हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ । पर्यटकले काठमाण्डौको भृकुटीमण्डप र पोखराको ड्यामसाईटस्थित काउन्टरमा प्रवेशदस्तुर बुझाउनु पर्ने व्यवस्था छ । यी दुबै ठाउँमा प्रबेश दस्तुर शुल्क नबुझाएका पर्यटकले एमक्यापको जगत र सामागाउँ स्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने एमक्याप प्रमुख शेरचनले बताए ।
निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान छ । विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक हप्ताका लागि अनुमति दिने गर्दछ । सो अबधिको भ्रमणका लागि पर्यटकले चुमभ्यालीका लागि सिजनमा प्रतिब्यक्ति ५० डलर र बेसिजनमा २५ र नुब्री भ्यालीका लागि प्रतिब्यक्ति सिजनमा ७० र बेसिजनमा ३५ डलर विभागमा बुझाउनुपर्नेछ ।
एकहप्ता बाहेक थप दिन भ्रमण गर्न चाहेमा थप शुल्क बुझाउन पर्नेछ । मनास्लु क्षेत्र अन्तर्गत चुमनुब्री गाउँपालिकाको ७ वटा वडा पर्दछन् । साविकका सिर्दिबास, ल्हो, प्रोक, बिही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसलाई संरक्षण क्षेत्रले समेटेको छ । जसमध्ये साविकका सामागाउँ, ल्हो, प्रोक र बिही गाविस नुब्री उपत्यकाका रुपमा चिनिन्छ भने चुम्चेत र छेकम्पार गाविस चुम उपत्यकाका रुपमा चिनिन्छ ।
सो क्षेत्रमा बसोबास गर्ने तिब्बती(भोटे) समुदायको धार्मिक तथा सास्ंकृतिक अबस्था अध्ययन गर्न, प्राकृतिक दृश्याबलोकन, मनास्लु हिमाल आरोहणका लागि पर्यटकहरु आउने गरेका एम क्यापका प्रमुख शेरचनले जानकारी दिए ।
यस क्षेत्रमा विश्वको आठौँ अग्लो मनास्लु हिमाल, ५ हजार एकसय ६ मिटर अग्लो लार्केपास, कालताल, वीरेन्द्रताल, अहिंसा क्षेत्र चुम उपत्यका, नुब्री उपत्यका आदिको अवलोकन गर्न पर्यटक जाने गर्छन् ।
सन् १९९५ देखि मनास्लु क्षेत्र पर्यटकका लागि खुल्ला गरिएको हो ।




