| सोमवार, कार्तिक २३, २०८३

मध्यपहाडी लोकमार्ग स्तरोन्नतिको तमासा

मध्यपहाडी लोकमार्गका जनक डाक्टर बाबुराम भट्टराई हुन् । उनले उठान गरेको यस लोकमार्ग उनकै जन्मस्थल क्षेत्रमा अलपत्र छ । पाँचथरको चियोभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म फैलिएको पहाडी लोकमार्ग मध्यपहाडी लोकमार्ग हो । डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री भएका बेला सुरु गरिएको यो राजमार्गलाई अहिले पुष्पलाल मध्यपहाडी लोकमार्ग नाम दिइएको छ ।

यसअघि निर्माण भएर सञ्चालनमा आएको पूर्वपश्चिम महेन्द्रराजमार्ग र हुलाकी राजमार्गपछि पूर्व पश्चिम जोड्ने यो तेस्रो राजमार्ग हो । यो अहिले निर्माणाधीन राजमार्ग हो । निर्माण भैसकेपछि यसको लम्बाई १ हजार ७ सय ७६ किलोमिटर हुनेछ । चियोभन्ज्याङदेखि झुलाघाटसम्म पुग्दा यो राजमार्गले पहाडका ३९ जिल्लामध्ये २४ पहाडी जिल्ला पार गर्छ । ती जिल्लामध्ये पनि १९ जिल्लाका सदरमुकाम छिचोलेर वा छोएर जान्छ ।

गाउँ मात्र नभएर यसले नेपालका धेरै सहरसँग पनि सम्पर्क राखेर नै अघि बढ्छ । नेपालका हाल विद्यमान ५८ नगरपालिकामध्ये २७ वटा पहाडमा पर्छन् । यो राजमार्गले यी २७ सहरमध्ये १६ वटालाई चिरेर, छोएर वा छोएसरह भएर जान्छ । सहर र सदरमुकाम मात्र नभई यसको हालको रेखांकनभित्र अन्य थुप्रै साना सहर तथा बस्ती पनि पर्छन् ।
यसको ६३ किलोमिटर खण्ड गोरखाको परिधिभित्र पर्छ । यो लोकमार्गमा पर्ने आरुघाटदेखि पालुङटारसम्म करिब ५० किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । आधाआधीजसो स्तरोन्नति गर्न बाँकी नै छ । ठेकेदारको बेइमानीका कारण तान्द्राङदेखि निबेलसम्म कालोपत्रे गर्ने काम अहिलेसम्म अलपत्र छ ।

त्यस्तै वन विभागले वन क्षेत्रका रुख काट्ने अनुमति नदिएका कारण पालुङटार खण्डमा चौडा बढाउने तथा कालोपत्रे गर्ने काम पनि लामो समयदेखि रोकिएको थियो । तर रुख काट्ने अनुमति लिएर आयोजनाले रुख काट्ने काम पूरा गरेको छ । तर यति हुँदा पनि ठेकेदारले सो खण्डमा काम नगरेर आयोजनालाई तमासा बनाइरहेका छन् । आयोजना कार्यालयले ठेकेदारलाई अधिकत्तम समन्वय गरेर काम लगाउन सक्नुपर्छ । तर यसमा आयोजना कार्यालय कमजोर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्