| सोमवार, कार्तिक २३, २०८३

भिजिट भिसामा गएर काम गर्ने भूल कसैले नगरुन्

दलाल, बिचौलियाले अरुलाई भन्दा आफन्तलाई धेरै ठग्छन् । सिदासादा गाउँलेहरु आफन्त तथा चिनेजानेको मान्छे भनेर विश्वासमा पर्छन् । यही मौकाको फाइदा उठाएर दलाल, बिचौलियाहरुले धित मारेर ठग्छन् । यस्तै भयो, धार्चे ७ लापुका उज्वल गुरुङलाई । उनले चिनेजानेको मान्छे भन्ने सोचेर उनको आश्वासनको भर परे । चिनेजानेको मान्छेले भिजिट भिसामा थाइल्याण्ड जाने र त्यहाँ पुगेपछि लुकिछिपी काम गर्ने प्रलोभन देखाए । आफिसभित्र बसेर कम्प्यूटर, इन्टरनेटसम्बन्धी काम गर्ने हो, तलब पनि मासिक डेढ, दुईलाख हुन्छ भनेपछि उनी फुरुङ्ग भए ।

तर थाइल्याण्ड पुगेपछि गुण्डाले बन्धक बनाएर म्यानमार पु¥याए । म्यानमारमा लगेर झन् फर्जी काममा लगाउँछन् । फेक आइडी बनाएर विश्वभरका मान्छेलाई साथी बनाई ललाईफकाई मायाप्रेममा फँसाउने र पैसा धुत्ने पेशामा लगाउँछन् । तलब, भत्ता त परको कुरा, टार्जेटअनुसारका मान्छेलाई फँसाउन नसके यातना दिन थाले । १० महिना चरम यातना झेलेर लाखौँ बुझाएर उनी नेपाल फर्कन्छन् । यातनाले थिलोथिलो भएको शरीरको उपचारमा दशौँ लाख खर्च लाग्छ । छँदाखाँदाको जागिर, मान, इज्जत, प्रतिष्ठा धुलोलामा बिलय गरेर दलालको चक्रव्युहमा पर्न पुग्छन् ।

उज्वलले जे भोगे भोगे, अब अरुलाई यस्तो अबस्था नआओस् । त्यसका लागि कसैले पनि लुकिछिपि काम गर्ने मनाशय गर्नुहुदैन । आफन्तले भनेको त हो भनेर भुलभुलैयामा पर्नु हुदैन । चिनेजानेको मान्छेले भनेको त हो भनेर अवैध काम गर्ने भ्रममा पर्नुहुदैन । विश्वकै उत्कृष्ठ संविधान भएको देश भने पनि नेपालको ऐन कानून अनुदार छैन, उदार छ तापनि नियम कानून उल्लंघन गरे अक्ष्यम्य हुन्छ । मिलाओवादमा चलेको देश भने पनि ऐन, कानूनले समातेपछि छुटकारा पाउन मुस्किल हुन्छ । विदेश त अनुदार ऐन कानून भएको मुलुक, अवैध काम गरेर ज्यान सजायँसम्म हुने मुलुक हो । त्यस्ता मुलुकमा भिजिट भिसामा गएर काम गर्छु भन्ने भूल कसैले गर्नु हुदैन ।

प्रतिक्रिया दिनुहोस्