
भिजिट भिसाले अँध्यारोमा फ्याँकिएका उज्वल
धार्चे ७ लापुका ३२ बर्षका उज्वल गुरुङसंग डेढबर्ष अघिसम्म के थिएन ? गाउँकै शान्ति आधारभूत विद्यालयमा पढाउँथे । दुई–दुईवटाटा गुरुङ फिल्ममा अभिनय गरेका थिए, उत्तरी गोरखाको गुरुङ भाषाको म्यूजिक भिडियोमा गीत लेख्थे । पालिकाभित्रका हरेकप्रायः कार्यक्रममा निम्तो आउँथ्यो । ती कार्यक्रमहरुमा उनको उपस्थिति गौरवमय हुन्थ्यो ।
आफ्नो गाउँटोलको मात्र नभै गाउँपालिकाकै सशक्त युवाका रुपमा स्थापित थिए । शान, मान, प्रतिष्ठा थियो, आर्थिक रुपमा पनि भरपुर इज्जत थियो । सक्रिय जीवनचर्यासंगै उनको चिनारीको दायरा बढ्दै गयो, धेरैको नजरमा पर्दै गए । धेरै चिनजान लाभदायी नै हुन्छन्, तर कतिपय यस्तो संगत हुन्छ, जसले व्यक्तिलाई आर्थिक, सामाजिक र शारीरिक रुपमा पनि ख्वाप्पै खाइदिन्छ ।
अपवादको यस्तै एउटा संगत उनीमाथि आइप¥यो । जसमा फँसेपछि अहिले उनीसंग के छ ? छँदाखाँदाको जागिर चट् । आर्थिक रुपमा तहसनहस, शारीरिक रुपमा जीर्ण, मानसिक रुपमा विदीर्ण भएर दिन बिताइरहेका छन् । ‘अब मर्ने नै भैयो । बरु आफ्नै देशमा मर्छु भनेर फर्केको थिएँ । जे होस्, भाग्यले बाँचेकोचाहिँ छु’, उपचारपछि स्वास्स्थलाभ गरिरहेका उनी भन्छन्, ‘यही एउटा जीवन छ, चित्त बुझाएको छु ।’
डेढबर्षकै अवधिमा उनको जीवन उलटपुलट कसरी बन्यो ?
चिनजानकै एक महिलाले उनलाई विदेश जाने, महिनाकै लाखौँ कमाएर छिट्टै करोडपति बन्ने सपना देखाइदिइन् । ‘अफिसभित्र कम्प्यूटर, इन्टरनेट चलाउने मात्र हो, मासिक डेढदेखि दुईलाखसम्म तलब हुन्छ भनिन्’, त्यो नमिठो आश्वास सम्झँदै उनी भन्छन्, ‘गाउँकै चिनेजानेको दिदीबहिनीले भनेपछि कसो विश्वास नगर्नु भनेर ओके गरेँ’, उनी भन्छन्, ‘भिजिट भिसामा थाइल्याण्ड जाने हो । त्यहाँ पुगेपछि काममा, तलबमा चित्त बुझेन भने तीन महिनापछि फर्कन पाइन्छ भनेर धेरै कन्भिन्स गरेपछि मैले एकलाख रुपैयाँ दिएँ ।’ त्यसपछि २०७९ को असोज १४ गते उनी भिजिट भिसामा थाइल्याण्ड गएर मालामाल हुने भन्दै बैंकक हानिए ।
रातको समयमा उनलाई बैंकक ओह्रालियो । उनीसंगै सो समूहले त्यो लटमा पाँचजना अरुलाई पनि लगेको थियो । ‘वैँककमा उत्रिएपछि कम्पनीको टोली रिसिभ गर्न आयो । दुईतीन घण्टा गएपछि फेरि अर्को गाडीमा चढाइयो । अल्लि पर गएपछि फेरि अर्को गाडीमा चढाइयो । फेरि अर्को, फेरि अर्को गर्दै १२ घण्टामा आठवटा गाडी फेरेर हामीलाई थाइल्याण्डबाट म्यानमार पु¥याइयो’, उनी भन्छन्, ‘यस्तो चाला देखेपछि हामी बेचियौँ भन्ने अनुमान गर्न गाह्रो भएन ।’ आफूहरु गुण्डाहरुबाट बन्दी भइसकेको उनले बताए ।
म्यानमारको एउटा ठूलो हलमा पु¥याएपछि केहीदिनसम्म उनीहरुलाई प्रशिक्षण दिइयो । प्रशिक्षण गजबको थियो । ‘कसरी मान्छेलाई झुक्याउने, कसरी मोहित पार्ने, कसरी फँसाउने, कसरी मायाप्रेमको जालमा पार्ने भन्ने मात्रै प्रशिक्षण हुन्थ्यो’, उनी भन्छन्, ‘हामी त्यहाँ पुग्दा दुईसय, तीनसय जना पहिल्यै रहेछन् । आउने, जाने भइरहँदो रहेछ ।’ फेसबुक, इन्स्टाग्राम, ट्वीटर, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालहरुबाट पुरुषहरुले विश्वभरका महिलालाई सम्पर्क गर्ने, महिलाहरुले विश्वभरका पुरुषलाई सम्पर्क गर्ने प्रमुख काम भएको उनी बताउँछन् ।
‘तीनवटा समुहमा काम हुन्थ्यो । पहिलो समूहमा काम गर्नेले डेटिङ साइटबाट विश्वभरका मान्छेलाई सम्पर्क गर्ने, महिला हो कि, पुरुष हो पत्ता लगाउने, उसको घर, गाडी, उद्योग, कलकारखाना जस्ता सम्पत्ति पत्ता लगाउने, ह्वाट्स नम्बर, इमेल आइडी पत्ता लगाएर दोस्रो समूहलाई हस्तान्तरण गर्ने’, कामको प्रकृतिबारे उनी भन्छन्, ‘दोस्रो समूहले उनीहरुलाई अनेक, अनेक कुरा गरेर मायाजालमा फँसाउने । भ्वाइस कल गर्ने, अश्लील फोटो, भिडियोहरु पठाउने, उम्किनै नसक्ने गरी मायाप्रेममा फँसाइसकेपछि भिडियो कल पनि गर्ने ।
यस्तो काममा हामीलाई जस्तै फँसेर पुगेका एकदम राम्राराम्रा केटीहरु हुँदा रहेछन् । त्यसपछि उनीहरुले तेस्रो समुहलाई हस्तान्तरण गर्ने । तेस्रो समूहले उनीहरुसंग पैसा लगानी गर्न लगाउने काम गर्ने रहेछन् ।’ राम्ररी प्रशिक्षण लिएर पोख्त भएपछि मात्र विभिन्न समूहमा रहेर काम गर्ने उनले बताए । प्रत्येक समूहका प्रत्येक व्यक्तिलाई टार्जेट दिने र टार्जेट पूरा नगरे कठोर सजायँ दिने उनले बताए । ‘यतिसम्म खट्नु पथ्र्यो कि, दुईघण्टा पनि राम्ररी सुत्न पाइँदैनथ्यो’, उनी भन्छन्, ‘न साथमा मोबाइल लिन दिन्थ्यो, न घडी हुन्थ्यो । विश्वभरका मान्छेलाई सम्पर्क गर्नुपथ्र्यो, तर आफ्नो आफन्तलाई सम्पर्क गर्न पाइँदैनथ्यो ।’
मान्छेहरुलाई मायाप्रेममा फँसाएरक्रिप्टो करेन्सी, बिट क्वाइन, डोजिक्वाइन, इथेरियम, स्योट गोल्ड, गोल्ड क्वाइन, हाइपरहरुमा लगानी गर्न लगाउने उनले बताए । ‘ललाइफकाई त्यसमा लगानी गर्न लगाउने र त्यो पैसा झ्वाम पारेपछि सबै आइडी ब्लक गरेर सम्पर्कविहिन हुने खेल रहेछ’, उनले भने, ‘यस्तोमा धेरैजसो नेपाली, भारतीय, भियतनामी, बंगालीहरु फँस्ने गर्दा रहेछन् । वैदेशिक रोजगारीमा गएकाहरुलाई यस्तोमा फँसाउन सजिलो हुने रहेछ । अमेरिका गएकाहरु पनि यस्तोमा फँस्दा रहेछन् । क्यानडा, अस्ट्रेलिया, दुबई, कतार, मलेसिया गएकाहरु झन धेरै फँस्दा रहेछन् ।’
काम गरेबापत तलब तथा अन्य सुविधा त परको कुरा सजायँ खाँदाखाँदै मृत्यूको मुखमा पुगिएला जस्तो हुने उनको दुखेसो छ । ‘एकदिनमा १५ जना नयाँ क्लाइन्टको परिचय लिनुपर्ने, नलिए कुट्ने, करेण्ट लगाउने, चर्को घाममा ५० फेर, सयफेर घर घुम्नु पर्ने, घुँडा टेकेर दौडनु पर्ने’, उनले भने, ‘मेरो त हात सुन्निएर सिकिस्त भएँ । अनि घरमा आमा बिरामी सिकिस्त हुनुहुन्छ भनेर १० महिना त्यहाँ काम गरेर उल्टै त्यहाँ तीनलाख बुझाएर छुटेर आएँ ।’ गत साउन महिनामा नेपाल आएको उनले बताए ।
‘सजायँ खाँदाखाँदै ज्यान सडेर बाँचिन्छ जस्तो लागेको थिएन । हातको हड्डी निकालेर त्यहाँ खुट्टको हड्डी राखेर उपचार गरेको छ’, उनले भने, ‘साउनदेखि अहिलेसम्म उपचार गर्दा अब त बाँचियो जस्तो लागेको छ ।’ उपचारमा दशौँ लाख खर्च भइसकेको उनको भनाइ छ । साथीसंगीले आर्थिक संकलन गरेर उपचार खर्च पठाएका उनले बताए । ‘राम्ररी कुरा नबुझी विदेश जाँदा यस्तरी फँसिने रहेछ’, उनी भन्छन्, ‘म त यसरी फसेर दुख पाएँ । अब कोही पनि भिजिट भिसामा काम गर्न भनेर कोही विदेश नजाउन् । आफन्त, चिनेजानेकाले नै फँसाउने रहेछन् । राम्ररी कागजपत्र बलियो भएपछि मात्र विदेश जाउन् ।’




