| सोमवार, कार्तिक २३, २०८३

युवा पलायन रोक्न पहल कदमीको खाँचो

भाषण खान मिल्ने भए, भाषण लाउन मिल्ने भए कोही नेपाली भोको हुनु पर्दैनथ्यो, कोही नेपाली नाङ्गो बस्नुपर्दैनथ्यो । खाना र नानामा आत्मनिर्भर भएर नेपालले विदेश निर्यात पनि गर्न सक्थ्यो । अन्तर्राष्ट्रिय भाषण प्रतियोगिता भए नेपालले च्याम्पियनसीप पाउँथ्यो, भाषणको उद्योग खोल्न मिल्ने हो भने नेपालले बहुर्राष्ट्रिय कम्पनी खोल्न सक्थ्यो ।

किनभने नेपालले भाषण गर्न जान्दछ, सक्दछ तर काम गर्न सक्दैन । त्यसैले कुनै प्रसंगमा थाहा अभियानका अभियन्ता रुपचन्द्र विष्ट भन्थे, ‘वेश्याले पनि माया नै गर्छु भन्छे, माया नै गर्छु भन्छे तर भन्नेले गर्दै गर्दैन, गर्नेले भन्दैभन्दैन ।’ नेपालका नेताहरु पनि त्यस्तै छन्, सबै कुरा गर्छु भन्छन्, तर गर्दैगर्दैनन् ।

अहिले चियापसल, चौतारी, भट्टीमा चार जना जम्मा भएका ठाउँमा कुनै कुरामा चिन्ता व्यक्त हुन्छ भने गाउँ रित्तिएको, युवा पलायन भएका विषयमा चिन्ता व्यक्त हुन्छ । जनजिब्रोमा जे भुण्डिएको छ, त्यही विषयमा भाषण गर्न हाम्रा नेताजीहरु पनि पोख्त छन् । त्यसैले सडकमा होस् वा सदनमा युवा पलायन भएको, गाउँसहर रित्तिएको विषयमा भाषण गर्छन् ।

तर उनीहरु युवालाई गाउँमै रोक्न, देशमै बस्ने वातावरण बनाउने विकल्पका विषयमा कहिल्यै बोल्दैनन् । जति आलोचना भएपनि, सक्षम भए पनि असक्षम भए पनि देशको वाग्डोर हाँक्ने भनेका राजनीतिक पार्टीका नेताहरुले नै हो ।

गाउँमा बसोबास घट्दैछ, गाउँका बासिन्दा सहरबजारमा झर्दैछन्, सहरबजारबाट विदेशिँदैछन् । त्यसैले गाउँ खालि हुदै गएको एउटा सूचक गाउँमा दैनिक उपभोग्य बस्तुको सप्लाई घटेको छ । बिगत तीन बर्ष यताको खाद्यान्न सप्लाईको तुलनात्मक अध्ययन गर्दा ५० प्रतिशत खाद्यान्न लगायतका सामग्री सप्लाई घटेको छ । जनसंख्या बढोस्, भन्ने आशय होइन, तर भएकाहरु पलायन भएको पक्ष दुखद हो । त्यसैले युवा पलायन रोक्न, बसाइँसराइ कम गर्ने बारेमा राजनीतिक दलका नेताजीहरुले पहल कदमी लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्