
दुर्गमका बासिन्दालाई केन्द्रीय प्रशारणको विद्युत सेवा देऊ
तल्लो भेगमा विजुली बत्ती बल्नुअघि नै दुर्गम गाउँहरुमा माइक्रो हाइड्रोबाट विजुली निकालेर बत्ती बाल्ने काम भएको थियो । गोरखा बजार, मनकामनालगायत कतिपय बजार क्षेत्रमा त पहिले नै विजुली बलेको हो, तर नजिकैको पालुङटार, सिरानचोक, सहिदलखन, भीमसेनथापा गाउँपालिकाका गाउँहरुमा विजुली बत्ती नबल्दै बारपाक तथा धार्चेका अधिकांश गाउँमा विजुली बलेको थियो । पछि विस्तार हुदैहुदै अहिले गोरखाका प्राय हरेक गाउँबस्तीमा विजुली बत्ती बलेको छ ।
गण्डकी प्रदेश सरकारले उज्यालो गण्डकी अभियान सञ्चालन गरेको छ । पालिकाहरुले पनि आफ्ना पालिकालाई उज्यालो पालिका बनाउने अभियान सञ्चालन गरेका छन् ।
तर बिडम्बना यो भयो कि, जुन माइक्रो हाइड्रोले तल्लो भेगमा भन्दा दुर्गम गाउँहरुलाई उज्यालो दियो, त्यही माइक्रो हाइड्रोको बत्ती काटेर अब केन्द्रीय प्रशारणको विजुली बाल्नु पर्ने बाध्यात्मक अबस्था देखिएको छ ।
केही गाउँमा एकदुई घण्टा लाइन काटेर २४ सै खण्टा लाइन दिने गरिन्छ भने कतिपय गाउँमा माइक्रो हाइड्रोको बत्ती बेलुका, राती र बिहान मात्र प्रयोग गर्ने, दिनभरि लाइन काट्ने प्रचलन छ । यसरी लाइन काट्दा दिउसो वडा कार्यालयमा कम्प्यूटर सेवा बन्द रहन्छ । कम्प्यूटरबाट गर्नुपर्ने पञ्जिकरणका कामहरु जस्तो जन्मदर्ता, विवाह दर्ता, मृत्यू दर्ता, बसाइँसराइका प्रमाणपत्र बनाउने काम अवरुद्ध हुने गर्छ ।
अहिले विद्यालयहरुमा सरकारले कम्प्यूटर दिने गरेको छ । तर दिउसोको समयमा लाइन नहुँदा ती कम्प्यूटर प्रयोग गर्न पाइएको छैन । केही विद्यालयमा धेरै क्षमताको सोलार प्रविधि जडान गरिएको छ । त्यस्तो विद्यालयमा कम्प्यूटर चले पनि सबैमा यो अबस्था छैन ।
अर्को महत्वपूर्ण पक्ष, माइक्रो हाइड्रोको बिजुली सर्वसाधारणका लागि धेरै महंगो पर्छ । बत्ती बाले पनि नबाले पनि मासिक डेढसयदेखि दुईसय रुपैयाँसम्म महशुल तिर्नुपर्छ । यदि केन्द्रीय प्रशारणको बत्ती बाल्न पाएका भए सर्वसाधारणले न्यूनत्तम ३० रुपैयाँमा तिरेर बत्ती बाल्न पाउँथे ।
यी विविध कारणले ती गाउँहरुमा केन्द्रीय प्रशारणको बत्ती प्रयोग गर्नु वान्छनीय छ ।




