
रोजगार तथा पूर्वाधार कार्यक्रमलाई असफल नबनाऊ
स्थानीयलाई रोजगार दिने र युवालाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले गोरखा नगरपालिकाको वडा नम्वर ११ मा पाइलट प्रोजेक्टको रुपमा लागू गरिएको रोजगार तथा पूर्वाधार कार्यक्रमले सुरुवाती चरणमै विवाद झेल्नुपरेको छ । समिति गठनको बिषयमा देखिएको असन्तुष्टीलाई लिएर भएको विवादले काम अघि बढ्न सकेको छैन । स्थानीयले रोजगार मात्र होइन लागू भएका बिकासे योजनाले टोलको मुहार समेत फेरिन सक्ने यस कार्यक्रमले सुरुवाती चरणमै विवाद झेल्नु दुखद हो । आपसी समझदारीमा विवाद समाधान गरेर कार्यक्रमलाई निरन्तरता दिनु बुद्धिमता हुन्छ ।
अस्वस्थ राजनीतिक प्रतिस्पर्धाका कारण वडा नम्वर ११ ले विगतमा पनि बिभिन्न विवादहरु झेल्दै आएको कुरा लुकाएर लुक्दैन । रोजगार तथा पूर्वाधार कार्यक्रममा पनि त्यही प्रवृति हावी बन्दा विवाद उत्पन्न हुन पुगेको हो । यसले वडाबारे जनमानसमा फैलाएको सन्देश पक्कै सकारात्मक छैन । कार्यक्रम संचालनका लागि बनेको कार्यविधिलाई नै मिचेर समिति गठन गर्नु गलत नै हो । निकटता र नातावादको आधारमा समितिमा पदाधिकारी चयन गर्नुपनि पक्कै राम्रो होइन । सबै वडावासीले कार्यक्रमको अपनत्व गर्ने गरी समावेशी तवरले सबै अटाउन सक्ने गरी समिति गठन गर्न सक्नु नै वडाध्यक्षको कुशलता हो ।
यो कुशलता प्रदर्शन गर्न वडाध्यक्ष चुक्नु हुदैन । साँघुरो घेराभित्र मात्र रमाएर आफू निकटका व्यक्ति बाहेक अरुलाई बाइपास गरेर जाने हो भने पाइलट प्रोजेक्टको रुपमा लागू भएको यो कार्यक्रमको सफलतामाथि प्रश्न चिन्ह उठ्न सक्छ । यस्ता कुरामा बिशेष ख्याल गर्दै विवाद समाधान तर्फ अग्रसर हुनुपर्छ । नगरका १४ वटा वडामध्ये कार्यक्रम लागू गर्नका लागि छनोट हुनु वडा नम्वर ११ का लागी गौरवको बिषय मात्र होइन अवसर पनि हो । त्यसैले यस्ता साना तिना विवादमा अड्किएर नबसी यो कार्यक्रमलाई सफल बनाउनका लागी सबै वडावासीले साथ र सहयोग गर्नुपर्छ । वडाले पनि सबैसँग आपसी समन्वय र सहयोग गरेर अघि बढे यस्ता विवादहरु भविष्यमा फेरी दोहोरिने थिएनन् कि !




