| सोमवार, कार्तिक २३, २०८३

पाङसिङसम्म सवारी साधन चलोस

बेनिघाटदेखि आरुघाट हुँदै लार्केसम्मको १५४ किलोमिटर सडक आयोजनामध्य हावाडाँडादेखि लार्केसम्मको ९२ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको हो । २०७४ साल, वैशाख ११ गते औपचारिक शिलान्यास भएको सो सडकमध्य अहिलेसम्म ३६ किलोमिटर निर्माण गरिसकेको छ । बेनिघाटदेखि हावाडाँडासम्मको ६२ किलोमिटर सडक भने सडक विभागले नै निर्माण गरिसकेको थियो ।

हावाडाँडादेखि पाङसिङसम्मको ३६ किलोमिटरमध्य ३२ किलोमिटर खण्डमा सवारी साधन चल्न सक्ने अबस्था छ । अथवा पाङसिङसम्म सवारी साधन चल्न सक्ने अबस्था छ । यदि पाङसिङसम्म यातायातका साधन चल्न थाले भने यहाँबाट चुम उपत्यका र नुब्री उपत्यकासम्म खाद्यान्न लगायतका अति आवश्यक सामग्री धेरै सस्तो मूल्यमा ग्राहकले पाउनेछन् ।

एकहप्ताअघिसम्म खोर्लाबेशीसम्म मात्र यातायातका साधनले सामग्री ढुवानी गर्ने गरेको थियो । धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकाको पहलमा र गोरखा सडक योजना कार्यालयले बर्खामा बिग्रिएको सडक मर्मतसम्भार गरेपछि अहिले जगतसम्म यातायातका साधन चल्न थालेको छ । यद्यपि यसलाई नेपाली सेनाले अनुमति भने दिएको छैन । बरु सेनाले यथासक्य छिटो सो खण्डमा सवारी साधन चलाउन अनुमति दिने भने जनाएको छ ।

गतबर्ष पनि जगतभन्दा पनि केही माथि नाग्चेतसम्म सवारी साधन पुगेको थियो । यसबर्ष नाग्चेतभन्दा पनि माथि पाङसिङसम्म सडक निर्माण भइसकेको छ । पाङसिङ पुग्नुअघिको खोल्सामा केही संरचना बनाउनु पर्ने छ । त्यो बनाएपछि तत्काल पाङसिङसम्म गाडी चल्न सक्छ ।

नेपाली सेनाको काम यसै छिटो र राम्रो भनेर प्रसंसा कमाएको नै हो । अब पाङसिङसम्म गाडी चल्न सक्ने बनाएपछि अलमल गरिरहनु आवश्यक छैन । यात्रुलाई पनि सहज, सामान ढुवानी गर्नेलाई पनि सहज । त्यसैले अलमल नगरी पाङसिङसम्म सवारी साधन चल्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्