| सोमवार, कार्तिक २३, २०८३

क्याम्पस पढ्ने छात्राको संख्या अधिक हुनु रोचक

गोरखाका क्याम्पसहरुमा पढ्ने पुरुष विद्यार्थीको संख्या महिलाका तुलनामा नगन्य रहेको छ । जिल्लामा सञ्चालित पाँचवटा क्याम्पसका विद्यार्थी संख्या विश्लेषण गर्दा छात्राका तुलनामा छात्रको संख्या ज्यादै कम रहेको पाइएको हो ।
गोरखाका सरकारी, सामुदायिक तथा निजी क्याम्पसहरुमा अहिलेसम्म दुईहजार दुईसय ७५ जना विद्यार्थी पढ्छन् । जसमध्य एकहजार पाँचसय ७६ जना छात्राहरु छन् । ६९९ जना मात्र पुरुष विद्यार्थी पढ्छन् ।

९८७ जना विद्यार्थी अध्ययन गर्ने सदरमुकामस्थित गोरखा क्याम्पसमा ७०१ जना छात्रा छन्भने छात्रहरु २८६ जना मात्र छन् । त्यस्तै ७७२ जना विद्यार्थी पढ्ने सदरमुकामकै अर्को द्रव्यशाह बहुमुखी क्याम्पसमा ६३३ जना छात्रा र बाँकी १३९ जना मात्र छात्र छन् ।

२०९ विद्यार्थी अध्ययनरत आरुघाटस्थित भीमोदय क्याम्पसमा अध्ययनरत छात्राहरु १८५ र छात्रको संख्या जम्मा २४ जना रहेका छन् । २४३ जना विद्यार्थी पढ्ने भवानी क्याम्पस पालुङटारमा ६८ जना मात्र पुरुष विद्यार्थी छन् । बाँकी १७५ जना महिला विद्यार्थी रहेका छन् ।

६४ जना विद्यार्थी पढ्ने घ्याम्पेशालस्थित अर्को दुल्लभ क्याम्पसमा सात जनामात्र पुरुष विद्यार्थी छन् । महिला विद्यार्थीसंख्या ५७ रहेका छन् ।

पुरुष विद्यार्थीभन्दा महिला विद्यार्थी धेरै हुनुको पछाडि धेरै कारण हुनसक्छन् । अधिकांश पुरुष विद्यार्थीहरुले लापार्बाहीपूर्वक पढाइ छाड्ने, वैदेशिक रोजगारमिा जाने गर्छन् । महिलाहरु कम पढाइ छाड्छन् । अर्थात धेरैजसो अबस्थामा पुरुष विद्यार्थी पढ्नका लागि लाखौं खर्च गरी विदेश जान्छन् भने महिला विद्यार्थी आफ्नै जिल्ला, आफ्नै घर नजिकको क्याम्पसमा पढ्छन् । यसले पनि यस्तो तथ्यांक देखाउँछन् ।

त्यस्तै पुरुष विद्यार्थी ठूला सहरका क्याम्पसमा पढ्न जान्छन् भने छात्राहरु स्थानीय क्याम्पसहरुमा पढ्छन् । त्यसैले पनि यस्तो तथ्यांक देखिन्छ । कारण चाहे जे सुकै भए पनि पुरुष विद्यार्थी भन्दा महिला विद्यार्थी संख्या धेरै हुनु रोचक कुरा भने हो ।

प्रतिक्रिया दिनुहोस्