
आँबुखैरेनीमा ब्राउन सुगरसहित दुईजना पक्राउ
ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहूँले नियन्त्रित लागु औषध खैरो हिरोइन(ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषधी प्रयोग तथा ओसारपोसार अन्त्य गर्ने अभियान सञ्चालन गरिरहेको सो इप्रकाले पृथ्वीराजमार्गको मुग्लिनतर्फबाट आँबुखैरेनीतर्फ आइरहेको सवारी चेकजाँच गर्दा खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरेको हो ।
‘हाइवेमा सवारी चेकजाँचको क्रममा बसमा सवार झापा कन्काई नगरपालिका वडा नं ३ का ३३ वर्षीय अनिरुद्ध मिश्रलाई ब्राउनसुगरसहित पक्राउ गरिएको छ’, ईलाका प्रहरी कार्यालय आँबुखैरनीका प्रहरी निरिक्षक शिव थापाले भने, ‘सोही घटनाको अनुसन्धान गर्दै जाँदा पोखरा महानगरपालिका वडा नं. १४ का ३९ वर्षीय यमबहादुर विकलाई पनि पक्राउ गरिएको छ ।’ उनीहरुलाई बिहिबार नै तनहूँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखेको इन्स्पेक्टर थापाले बताए ।
पक्राउ परेका मिश्रको शरीरमा खान्तलासी गर्दा उनको शरीरमा लगाएको जिन्स पाईन्टको अगाडि दाहिने तर्फको गोजीमा कालो रङको पोलिथिन झोलाभित्र लुकाई छिपाइ राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको उनले बताए । मिश्रबाट २४ ग्राम ५७० मिलिग्राम खैरो हिरोइन(ब्राउन सुगर) पदार्थ बराम गरेको प्रहरी निरिक्षक थापाले जानकारी दिए ।
यसअघि बुधबार इलाका प्रहरी कार्यालय आँबुखैरेनीको टोलीले १९५ थान नियन्त्रित लागु औषधसहित एक युवालाई पक्राउ गरेको थियो ।
पृथ्वीराजमार्गको मुग्लिन आँबुखैरेनी खण्डमा सवारी चेकजाँचका क्रममा मुग्लिनबाट आएका एक यात्रुबाहक बसबाट डाइजेपाम, फेनार्गन र नोफिन बरामद गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।
‘चेकजाँच गर्दा रत्ननगर नगरपालिका ३ बस्ने ६५ बर्षका कृष्णबहादुर लोप्चनको साथमा ६५ एम्पुल डाइजेपाम, ६५ एम्पुल फेनार्गन र नोफिन ६५ एम्पुल बरामद गरियो’’, इन्स्पेक्टर थापाले भने, ‘उनलाई तनहूँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेका छौँ ।’




