| मङ्लबार, कार्तिक २४, २०८३

भीरबाट खसेर घाइते भएका खच्चड व्यवसायीको हेलिकोप्टरबाट उद्धार

भीरबाट खसेर घाइते भएका धार्चे ५ का रामबहादुर गुरुङ(कैमी)को हेलिकोप्टरबाट उद्धार गरिएको छ । चुमनुब्री ५ बिजमस्थित बाटोबाट भीरमा खसेर घाइते भएका उनको बुधबार बिहान हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ पठाएको वडाअध्यक्ष कालेन छेवाङ लामाले जानकारी दिए ।


सो क्षेत्रबाट निर्वाचित सांसद राजेन्द्र बजगाईँले समन्वय गरी घाइतेको उद्धार गर्न हेलिकोप्टर व्यवस्था गरिएको हो । ‘हिजो खच्चडमा स्योसम्म सामान पु¥याएर फर्कँदा पाँचबजेटि बासबस्ने ठाउँमा खच्चड आइपुग्यो, तर मान्छे नआइपुगेपछि गाउँलेहरुबाट व्यापक खोजतलास भयो’, वडाअध्यक्ष लामाले भने, ‘त्यही क्रममा बाटोमुनि भीरमा अड्रिहेको अबस्थामा फेला पा¥यौँ । साँढेचार बजेतिर माथिबाट खसेको ढुंगाले लडाएर उहाँलाई बाटोबाट भीरमा पु¥याएको रहेछ । उहाँलाई बचाएर गाउँलेले गाउँकै हेल्थपोस्टबाट प्राथमिक उपचार गरियो । हिजो अँध्यारो भइसकेको हुनाले हेलिकोप्टर उद्धार गर्न सकिएन अनि अहिले बिहान उद्धार गरेको हो । धन्न त्यहाँबाट पनि लडेर गण्डकीमा पुग्नु भएको रहेनछ ।’


घाइतेको उद्धार गर्न प्रतिनिधिसभाका सांसद बजगाईँ स्वयं घटनास्थल पुगेका थिए ।


अति बिकट गोरखाको चुमनुब्री गाउँपालिकामा सडक सञ्जालले जोडेको छैन । पैदल हिड्ने बाटो पनि अति जोखिमपूर्ण हुनाले ढुंगा खसेर स्थानीयबासी, पर्यटक, खच्चड गोठालाहरु घाइते भइरहने गर्छन् । ‘प्राय यस्ता अप्रिय घटना घटि नै रहन्छ । कहिले घाइतेको उद्धार, कहिले सुत्केरी हुन नसकेका महिलाको उद्धार, कहिले गम्भीर बिरामीको उद्धारमै मेरो धेरै समय बित्ने गर्छ’, सांसद बजगाईँले भने, ‘गम्भीर घाइते, बिरामीको अबस्था खतरापूर्ण बनिरहेको हुन्छ, तर सरकारले निषेधित क्षेत्र भनेर त्यहाँ हेलिकोप्टरबाट उद्धार गर्न पनि झमेला गर्ने गर्छ । यो सहज हुनुपर्छ भनेर कैयौ मिहिनेत गर्दा पनि सफल हुन सकेको छैन ।’ हिजोदेखि लगातार कोशिष गरेर बल्लतल्ल घाइतेको उद्धार गर्न हेलिकोप्टर उँडाउने अनुमति लिन सकिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्